एक वर्षमा ४० अर्बको आयात, उत्पादनको दोब्बर बढी भित्रियो

काठमाडौं– गत आर्थिक वर्ष २०८१–८२ मा ४० अर्बभन्दा बढीको धान र चामल आयात भएको भन्सार विभागको तथ्यांकमा छ । अघिल्लो आर्थिक वर्षभन्दा झन्डै १८ अर्ब रुपैयाँ बढीको धान चामल आयात भएको विभागले जनाएको छ ।
गत आवमा कुल १८ खर्ब ४ अर्बको वस्तु आयात गर्दा ४० अर्ब १८ करोड रुपैयाँको धान चामल आयात भएको हो । विभागका अनुसार यो रकमबाट ७ लाख ७५ हजार २६८ टन धान चामल आयात भएको छ ।
अघिल्लो आव २०८०–८१ मा २२ अर्ब २३ करोड रुपैयाँको ४ लाख ९ हजार टन धान चामल आयात भएको थियो । अघिल्लो आवसँग तुलना गर्दा गत वर्षमा १७ अर्ब ९५ करोड धेरैको धान चामल आयात भएको छ । परिमाणमा हेर्दा पनि ३ लाख ६५ हजार ४२६ टन धान चामल धेरै आयात भएको छ ।
विभागका अनुसार आव २०७७–७८ का तुलनामा भने गत वर्षको धान चामल आयात थोरै हो । उक्त आवमा ५० अर्ब ७८ करोड ६९ लाख रुपैयाँको १३ लाख ३४ हजार ३३० टन धान चामल आयात भएको थियो । उक्त आवका तुलनामा गत वर्षको आयात १० अर्ब ५९ करोडले कम हो । परिमाणमा पनि ५ लाख ५९ हजार ६२ टन धान चामल कम आयात भएको छ ।
कृषि मन्त्रालयको तथ्यांकअनुसार गत वर्ष ५९ लाख ५५ हजार ४ सय ७६ टन धान उत्पादन भएको छ । यो अघिल्लो वर्षभन्दा २ लाख ३१ हजार २ सय ४२ टन धेरै हो । अघिल्लो आवमा ५७ लाख २४ हजार २ सय ३४ टन धान उत्पादन भएको थियो । गत आवमा १४ लाख २० हजार ६ सय ३६ हेक्टरमा धानखेती लगाइएको थियो ।
अघिल्लो आवमा योभन्दा धेरै १४ लाख ३८ हजार ९ सय ८९ हेक्टरमा धानखेती गरिएको थियो । यो वर्ष उत्पादन भने कम भएको थियो । यो वर्ष मधेश प्रदेशमा पानी परेको छैन । सरकारले यो प्रदेशलाई सुख्खा क्षेत्र घोषित गरेको छ ।