देशभर ७८.८४ प्रतिशत धान रोपाइँ सम्पन्न, मधेसमा थोरै

काठमाडौं– साउन ११ सम्म देशभर ७८.८४ प्रतिशत धान रोपाइँ सकिएको छ । बाली विकास तथा कृषि जैविक विविधता केन्द्रका अनुसार मुलुकभर १३ लाख ३८ हजार ७३२ हेक्टरमा बर्खे धान रोपाइँ हुन्छ ।
साउन ११ सम्म मधेश प्रदेशमा कुल धान रोपाइँ हुने क्षेत्रफलमध्ये ५१.८१ प्रतिशत मात्र रोपाइँ भएको छ । यो प्रदेशमा ३ लाख ७२ हजार ६४५ हेक्टरमा रोपाइँ हुन्छ ।
त्यसमध्ये साउन ११ सम्म १ लाख ९३ हजार ११६ हेक्टरमा मात्र रोपाइँ भएको हो। यो गत वर्षको तुलनामा आधा नै कम हो । गत वर्ष यही समयमा मधेश प्रदेशमा ९२ प्रतिशत धान रोपाइँ भएको थियो ।
गत वर्षको तुलनामा यस वर्ष आधा नै कम भएको छ । कुल राष्ट्रिय धान उत्पादनमा ठूलो हिस्सा यही प्रदेशको छ । अन्नको अर्को भण्डार मानिने कोशी प्रदेशमा पनि गत वर्षभन्दा धान रोपाइँ कम भएको छ । कोशी प्रदेशमा धान रोपाइँ हुने क्षेत्रफल २ लाख ७६ हजार ३८६ हेक्टर रहेकोमा ८०.३९ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्ष ९०.७ प्रतिशत धान रोपाइँ भएको थियो ।
केन्द्रको तथ्यांकअनुसार साउन ११ सम्ममा सुदूपश्चिम प्रदेशमा ९८.९४ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्षको यही अवधिमा सुदूरपश्चिममा ९९.६ प्रतिशत रोपाइँ भएको थियो । यो प्रदेशमा १ लाख ७६ हजार हेक्टरमा रोपाइँ हुन्छ ।
कर्णाली प्रदेशमा ९१.८३ प्रतिशत रोपाइँ भएको छ । कर्णालीमा ४१ हजार ४२ हेक्टरमा रोपाइँ हुन्छ, जसमध्ये ३७ हजार ५०५ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ । यसैगरी लुम्बिनीमा ९२.०४ प्रतिशत रोपाइँ सकिएको छ । गत वर्ष सोही अवधिमा ९८.६ प्रतिशत धान रोपाइँ भएको थियो । यो प्रदेशमा ३ लाख २ हजार ९३९ हेक्टरमा रोपाइँ हुन्छ । यसमध्ये २ लाख ७८ हजार ८२८ हेक्टरमा रोपाइँ सकिएको छ ।
यसैगरी गण्डकीमा ८४.५३ प्रतिशत रोपाइँ भएको छ । यो प्रदेशमा ९४ हजार १८२ हेक्टरमा रोपाइँ हुन्छ । त्यसमध्ये ७९ हजार ६१३ हेक्टरमा रोपाइँ सकिएको छ । यस्तै, बागमतीमा ८७.१९ प्रतिशत रोपाइँ भएको छ । यो प्रदेशमा १ लाख २० हजार ५४५ हेक्टरमा रोपाइँ हुन्छ । त्यसमध्ये १ लाख ५ हजार १०३ हेक्टरमा रोपाइँ सकिएको छ । गत वर्ष यही अवधिमा ८५.४ प्रतिशत रोपाइँ भएको थियो ।