राजनीतिक दल स्वमूल्यांकनसम्बन्धी कार्यविधि’को मस्यौदा तयार

राजनीतिक दल स्वमूल्यांकनसम्बन्धी कार्यविधि’को मस्यौदा तयार
  • १६ श्रावण २०८२, बिहीबार १६:४६

काठमाडौं– निर्वाचन आयोगले राजनीतिक दलहरूको स्वमूल्यांकन गर्ने भएको छ। यसका लागि आयोगले ‘राजनीतिक दल स्वमूल्यांकनसम्बन्धी कार्यविधि’ को मस्यौदा तयार गरेको छ, जसमा दलहरूको मूल्यांकनका लागि विभिन्न सूचक र अंकभार प्रस्ताव गरिएको छ ।

mulpatra

स्वमूल्यांकनका क्रममा आयोगले दलहरूले विधान र कानुनको पालना गरे÷नगरेको विस्तृत रूपमा हेर्नेछ। यसअन्तर्गत दलको विधानमा उल्लेख भएबमोजिम केन्द्रीय, प्रदेश र स्थानीय तहका समितिहरूको गठन, प्रत्येक पाँच वर्षमा हुनुपर्ने पदाधिकारीको आवधिक निर्वाचन र संसदीय दल गठनको अवस्थाजस्ता विषयहरू मूल्यांकनको आधार बन्नेछन् ।

मस्यौदाले संगठनात्मक संरचनाका लागि ८, आन्तरिक व्यवस्थापनका लागि २२, तथा दलको जिम्मेवारीका लागि १५ अंकभार प्रस्ताव गरेको छ ।

त्यसैगरी, लैङ्गिक तथा समावेशी व्यवस्थाका लागि १० अंक, कोष व्यवस्थापन र लेखा परीक्षणजस्तो महत्त्वपूर्ण पक्षका लागि २० अंक, निर्वाचनमा सहभागिता र प्रतिनिधित्वका लागि १५ अंक तथा अन्य राजनीतिक व्यवस्थाका लागि १० अंकभार तोकिएको छ ।

आन्तरिक व्यवस्थापनतर्फ सदस्यताको अद्यावधिक विवरण र नियमित बैठकहरूलाई हेरिनेछ भने आर्थिक पारदर्शीताका लागि दलको छुट्टै कोष, बैंक खाता सञ्चालन, २५ हजार रुपैयाँभन्दा माथिको सहयोग बैंकिङ प्रणालीबाट लिए÷नलिएको र एक लाखभन्दा बढीको चन्दामा स्रोत खुलाएकोरनखुलाएको जस्ता पक्षहरूको जाँच गरिनेछ ।

यसका साथै, पदाधिकारीका लागि तोकिएको योग्यता र वेबसाइटमार्फत दलका विवरणहरू सार्वजनिक गरे÷नगरेको विषयलाई पनि मूल्यांकनमा समेटिनेछ ।

आयोगका अधिकारीहरूका अनुसार, यो पद्धतिको मुख्य उद्देश्य राजनीतिक दलको आन्तरिक कार्यविधिलाई व्यवस्थित गर्दै उनीहरूको कामकारबाहीलाई पारदर्शी र जिम्मेवार बनाउनु हो । सबै सरोकारवालाबाट सुझाव संकलन गरी कार्यविधिलाई अन्तिम रूप दिइने उनीहरूको भनाइ छ ।