एक वर्षमा वैदेशिक रोजगारीमा १ हजार ५१७ जनाको मृत्यु

एक वर्षमा वैदेशिक रोजगारीमा १ हजार ५१७ जनाको मृत्यु
  • १६ श्रावण २०८२, बिहीबार १७:०५

काठमाडौं– वैदेशिक रोजगार बोर्डले गत आर्थिक वर्ष २०८१÷०८२ को प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । बोर्डले गत आर्थिक वर्षमा एक हजार १८० नेपालीको शव मृतकको घरसम्म ढुवानी गरेको हो ।

mulpatra

गत वर्षमा एक हजार पाँच सय १७ नेपालीले विदेशमा रोजगारीकै क्रममा ज्यान गुमाउँदा तिनका आफन्तलाई मात्र वैदेशिक रोजगार बोर्डले १ अर्ब २ करोड ३४ लाख रुपैया आर्थिक सहयोग गरेको थियो । यो रकम अंगभंग, बिरामी तथा शव व्यवस्थापन खर्चबाहेकको हो । गत वर्ष विदेश रोजगारीको इतिहासमा सबैभन्दा बढी युवाले ज्यान गुमाएका थिए ।

बोर्डले सार्वजानिक गरेको आर्थिक वर्ष २०८१÷८२ को प्रगति प्रतिवेदनअनुसार वैदेशिक रोजगारी सिलसिलामा एक हजार पाँच सय १७ नेपाली श्रमिकको मृत्यु भएको उल्लेख छ ।

अघिल्लो आर्थिक वर्षमा विदेशमा मृत्यु भएर वैदेशिक बोर्डबाट आर्थिक सहायता लिनेको संख्या एक हजार हजार तीन सय ४६ थियो । अघिल्लो आवको तुलनामा गत आवमा विदेशमा मृत्यु हुने नेपालीको संख्या एक सय ७१ जनाले बढेको छ ।

तीन हजार ९९० जनालाई वैदशिक रोजगार सन्तती छात्रवृत्ति सहायता प्रदान गरेको छ । भने यो एक वर्षको अवधिमा ७० वटा अलपत्र परेको शव झिकाउने काम गरेको छ । भने एक जना अलपत्र कामदारको उद्धार गरेको छ ।

बोर्डमा पत्रकार सम्मेलनको आयोजना गर्दै बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले बोर्डले गरेका कामहरूबारे जानकारी दिएका हुन् । बोर्डले एक वर्षको अवधिमा वैदेशिक रोजगारीमा जान चाहने १४ हजार ४५८ युवालाई सीपमूलक तालिम दिइएको छ ।

एक हजार २५० जना मृतक कामदारका परिवारलाई आर्थिक सहायता प्रदान गरेको छ । त्यो बीचमा ६९८ जना अंगभङ्ग÷विरामी कामदारलाई आर्थिक सहायता प्रदान गरेको छ भने २७५ जना कामदारका परिवारलाई स्वास्थ्य उपचारमा सहयोग गरेको छ ।

श्रमाधान कल सेन्टरको सफल सञ्चालन, टेलिमेडिसिन सेवा, र विभिन्न सचेतनामूलक कार्यक्रमहरू पनि सम्पन्न भएको बोर्डले जनाएको छ ।