कर्णाली विकास बैंक घोटाला: १०९ जनाविरुद्ध ३ अर्ब बिगो माग गर्दै मुद्दा दायर

कर्णाली विकास बैंक घोटाला: १०९ जनाविरुद्ध ३ अर्ब बिगो माग गर्दै मुद्दा दायर
  • १६ श्रावण २०८२, बिहीबार १७:४४

काठमाडौं– कर्णाली विकास बैंकमा भएको ३ अर्ब २० करोड रुपैयाँको अनियमितता प्रकरणमा १०९ जनाविरुद्ध उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासमा मुद्दा दायर गरिएको छ ।

mulpatra

उच्च अदालतका सूचना अधिकारी बलबहादुर विष्टका अनुसार उक्त रकम बराबरको बिगो माग गर्दै मुद्दा दायर गरिएको हो ।

घोटालाका मुख्य अभियुक्त मानिएका बैंकका तत्कालीन अध्यक्ष राजेन्द्रवीर रायमाथि मात्रै २ अर्ब ६३ करोड ३२ लाख रुपैयाँको बिगो र जरिवाना दाबी गरिएको छ ।

त्यस्तै, पशुपति दयाल मिश्रमाथि ८२ करोड ४६ लाख, राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतमाथि १० करोड ८९ लाख र वित्त विभाग प्रमुख वेदप्रकाश सिंह ठकुरीमाथि २४ करोड ६३ लाख रुपैयाँको बिगो माग गरिएको छ ।

प्रहरीको सीआईबीले तयार पारेको अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा दायर गरिएको हो । सीआईबीको प्रतिवेदन अनुसार १११ जना प्रतिवादीमध्ये हालसम्म ४ जना पक्राउ परिसकेका छन् भने १०४ जना फरार र ३ जनाको मृत्यु भइसकेको छ ।

नेपाल राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरी गत पुसदेखि व्यवस्थापनमा टेकओभर गरिसकेको छ । हाल बैंकको व्यवस्थापन राष्ट्र बैंक अन्तर्गत गठित तीन सदस्यीय टोलीले सम्हालिरहेको छ ।

राष्ट्र बैंकको प्रारम्भिक निष्कर्ष अनुसार २ अर्ब ५० करोड रुपैयाँ बराबरको हिनामिना भएको उजुरी सीआईबीमा परेका छन् ।