Close

Recent Posts

राप्रपामा लिङ्देन र राणाको वारपारको लडाईँ, दुवै समुहको गुटगत भेला

राप्रपामा लिङ्देन र राणाको वारपारको लडाईँ, दुवै समुहको गुटगत भेला
  • २३ श्रावण २०८२, बिहीबार १८:१४

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणाबिचको मतभेद गहिरिँदै जाँदा गुटगत गतिविधि बढेका छन् । विवादकै बिच संस्थापन पक्षले समेत बिहीबार बत्तीसपुतलीस्थित तपस होटेलमा बैठक डाकेको छ । जसमा अध्यक्ष लिङ्देनले आफू निकटका नेताहरूलाई मात्रै बोलाएका छन् । यस पार्टी भित्रको आन्तरिक विवाद तीव्र बन्दै गएको छ ।

mulpatra

दुवै पक्षले छुट्टाछुट्टै भेला, बैठक र कार्यक्रम गर्दै रणनीति तय गर्न थालेका छन् । जहाँ पार्टीभित्रको आन्तरिक असन्तोष, राणा समूहविरुद्धको रणनीति र महाधिवेशनको तयारीबारे छलफल हुने जनाइएको छ । यसअघि पनि यही होटेलमा लिङ्देन समूहको बैठक बसेको थियो ।

विशेषगरी राप्रपामा राजसंस्थाको पक्षमा चलाइएको आन्दोलनसँगै विवाद उत्पन्न चुलिएको देखिन्छ । जसका बिच अध्यक्ष लिङ्देनले कतिपय नेताहरूलाई कारबाही गरेका छन् । उसो त केही दिनअघि मात्रै राणा समूहले हात्तीसारस्थित नेपाल हाउसमा बेग्लै भेला राखेको थियो । जहाँ लिङ्देनविरुद्ध कसरी जाने भन्ने छलफल भएको थियो । बैठकले लिङ्देनका प्रत्येक निर्णयमाथि प्रतिवाद गर्ने निर्णय पनि गरेको थियो ।

महामन्त्री राणासहित उपाध्यक्ष विक्रम पाण्डे, मुकुन्दश्याम गिरी, कुन्ती शाहीलगायतले अध्यक्षको कदमको सार्वजनिकरूपमै विरोध गरेका छन् । नेताहरूले सामूहिकरूपमा कार्यसम्पादन समितिको बैठक माग गरेका छन् । तर, अध्यक्ष लिङ्देन भने बैठक बोलाउने पक्षमा छैनन् ।

लिङ्देनले राजसंस्थाको पक्षमा चलाइएको आन्दोलनका मुख्य कमान्डर नवराज सुवेदीलाई अनुशासन समिति संयोजक र सगुनसुन्दर लावतीलाई प्रवक्ताबाट हटाएका छन् । जसले विवादलाई बढाएको छ । योबिचमा सुवेदीको स्थानमा उपाध्यक्ष रोशन कार्कीलाई ल्याइएपछि इतर पक्ष निर्वाचन आयोगसम्म पुगेको छ ।

पार्टीको महाधिवेशन नजिकिँदै गर्दा चुलिएको विवादले राप्रपा विभाजन उन्मुख देखिन्छ । स्वयं अध्यक्षसमेतले आफू पक्ष निकटलाई मात्रै समेटेर भेला गर्न थालेसँगै पार्टीभित्रको दरार अस्वाभाविक बढेको हो ।

यहीबिच पार्टीभित्रको कलह बढ्दै जाँदा राजीनामाको घटना पनि बाहिर आएको छ । केन्द्रीय सदस्य किशोरबहादुर कार्कीले पार्टी परित्याग गरिसकेका छन् ।