घरेलु रोजगारीमा खाडीका देश पठाउन लागिएका ६३ महिलाको भारतबाट रेस्क्यु

काठमाडौं– घरेलु कामदारको रुपमा खाडी मुलुक लैजाने उद्देश्यले भारत पु¥याइएका ४० नेपाली महिलालाई काठमाडौं फिर्ता ल्याइएको छ ।
बुधबार राति दूतावास र भारतीय प्रहरी समेतको सहयोगमा दिल्लीका चार वटा होटलबाट ६३ महिलाको रेस्क्यु गरिएको थियो । ती मध्ये एक महिलाको युरोपको भिसा लागेको समेत पाइएको थियो । बाँकी २२ महिला भने रोमानियालगायत युरोपका देशहरु जाने तयारीमा थिए ।
दिल्लीस्थित नेपाली दूतावास, प्रहरी सहचारी, भारतीय प्रहरी र किन इन्डियाको संयुक्त पहलमा ४० नेपाली महिलालाई उद्धार गरी काठमाडौं ल्याइएको हो ।
उद्धार गरेर सुनौलीहुँदै स्थलमार्गबाट दिउँसो काठमाडौं ल्याइएका उनीहरुलाई अहिले शक्ति समूहलगायतका संस्थामा राखिएको छ । सिनामंगल र गोकर्णस्थित सेल्टर हाउसमा उद्दार गरेर ल्याइएका महिलाहरूलाई राखिएको छ ।
उद्दार गरेर काठमाडौं फिर्ता ल्याइएका ४० महिलाहरू भने कुवेत, साउदी, ओमान, दुबईलगायतका देश जाने तयारीमा थिए । ती देशहरूमा घरेलु कामदारको रुपमा महिला जान पाउँदैनन् ।
नेपालको विमानस्थल प्रयोग गरेर जाँदा अध्यागमनबाटै फिर्ता हुनसक्ने भयका कारण उनीहरूलाई भारत हुँदै तेस्रो मुलुक लैजान लागिएको बताइएको छ ।