चिया निकासीमा अवरोध हटेसँगै भारत जान थाले चियाका गाडी
काठमाडौं– गुणस्तर परीक्षणको बहानामा भारतीय चिया बोर्डले सिर्जना गरेको अवरोधका कारण झन्डै दुई महिनादेखि ठप्प रहेको नेपाली चियाको निर्यात अन्ततः फेरि सुरु भएको छ ।

सरकारको उच्च तहबाट भएको निरन्तरको कूटनीतिक पहल र भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले परीक्षण प्रणालीमा खुकुलो मापदण्ड (एसओपी) लागु गरेसँगै पूर्वी नाका काँकडभिट्टा हुँदै चियाका गाडीहरू भारततर्फ जान थालेका हुन् ।
झन्डै दुई महिना लामो निकासी अवरोधले गर्दा इलामका चिया उद्योगहरूमा मात्रै करिब १२ लाख किलो अर्थोडक्स चिया थन्किएको थियो । अहिले निकासी खुलेपछि उक्त चिया निर्वाध रूपमा भारतीय बजारमा पुग्ने विश्वास चिया व्यवसायीहरूले लिएका छन् ।
![]() |
![]() |
![]() |
|---|
नेपाल चिया उत्पादक संघका अनुसार हिजो सोमबारदेखि इलामको अर्थोडक्स चिया बोकेका २ वटा ट्रक नेपालको काँकडभिट्टा हुँदै भारतको पानीट्यांकी भन्सार पार गरेका छन् ।
भारतले चियाको गुणस्तर परीक्षण प्रणाली परिमार्जन गरेसँगै अब नेपालबाट जाने २० प्रतिशत चियाको मात्रै नमुना परीक्षण (स्याम्पल टेस्ट) हुने भएको छ । जुन १६ मा भारतका वाणिज्य सचिवको अध्यक्षतामा बसेको बैठकको निर्णयलाई आधार मान्दै एफएसएसएआईले जुन २३ मा यससम्बन्धी नयाँ सर्कुलर जारी गरेको थियो ।
नयाँ व्यवस्थाअनुसार भारतमा आन्तरिक खपतका लागि आयात हुने चिया (एचएसएन कोड ०९०२) मा अब ‘जोखिममा आधारित परीक्षण प्रणाली’ लागु हुनेछ । यसअन्तर्गत नेपालबाट जाने ५ वटा गाडी (खेप) मध्ये एउटालाई मात्र छड्के (¥यान्डम) जाँचका लागि रोकिने छ ।
Image Source: © https://mulpatra.com
१८ वैशाखदेखि भारतले नेपालबाट जाने प्रत्येक गाडी (शतप्रतिशत) चियाको अनिवार्य नमुना परीक्षण गर्नुपर्ने नियम लगाएको थियो । उक्त झन्झटिलो नियमका कारण निकासी ठप्प हुँदा पहाडका ५६ र तराईका ३० वटा चिया उद्योग पूर्णरूपमा बन्द हुने अवस्थामा पुगेका थिए ।
चिया निकासी रोकिँदा किसान र व्यवसायी गम्भीर मारमा परेपछि नेपाल सरकारले यो अवरोध हटाउन भारतसँग कूटनीतिक पहल अघि बढाएको थियो । पछिल्लो नयाँ व्यवस्था तिनै निरन्तरका कूटनीतिक प्रयासको परिणाम भएको बताइएको छ ।
पानीट्यांकी भन्सार नाकामा ल्याब नहुँदा चियाको नमुना परीक्षणका लागि कोलकाता नै पठाउनुपर्ने बाध्यता भने कायमै छ । विगतमा भारतीय भन्सारले चियालाई लामो समय होल्ड गर्ने र झन्झटिलो नियम लगाउने गरेका कारण व्यवसायीहरू अझै पनि पूर्णरूपमा ढुक्क भने भइसकेका छैनन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



