आजबाट कोरियन भाषा परीक्षाका लागि आवेदन भर्न पाउने

काठमाडौं– रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आजदेखि आवेदन दिन पाइने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको ईपीएस कोरिया शाखाले सोमबार सूचना जारी गर्दै भाषा परीक्षाका लागि आवेदन माग गरेको हो। आज सोमबारदेखि बिहीबारसम्म आवेदन दिने म्याद तोकिएको छ ।
नेपालको श्रम रोजगार तथा सुरक्षा मन्त्रालय र गणतन्त्र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीच भएको समझदारी पत्र अनुसार ईपीएस प्रणाली अन्तर्गत कोरियामा नेपाली नागरिक श्रमिकको रुपमा जाँदै आएका छन् । जस अन्तर्गत उत्पादनमुलक क्षेत्रमा ३ हजार ५ सय र कृषि तथा पशुपालन क्षेत्रमा १ हजार ८ सय जना उत्तीर्ण गरिनेछ ।
यस प्रयोजनका लागि योग्य उम्मेदवार छनोट गर्न प्रथम चरणमा भाषा परीक्षा सञ्चालन गरिन्छ । यस वर्षका लागि एचआरडी कोरियाले अनुमानित ५ हजार ३ सय कोटा छुट्याउँदै परीक्षा कार्यक्रमको तालिका पठाएको हो ।
परीक्षाको मिति भने पछि प्रकाशित गरिनेछ। परीक्षा एक दिनमा बढिमा ५ सिफ्टमा सञ्चालन हुनेछ । आवेदन संख्याका आधारमा र अन्य कुनै कारण आइपरेमा परीक्षा तालिका फेरबदल हुन सक्ने पनि ईपीएस शाखाले जनाएको छ ।
२५÷२५ मिनेट गरी ५० मिनेटमा परीक्षा सकिनेछ। तर यी दुई परीक्षाको बिचमा विश्राम नभई लगातार सञ्चालन हुनेछ। परीक्षामा सामेल हुन जाँदा सक्कल राहदानी र प्रवेश पत्र लिएर जानुपर्नेछ ।
१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । भाषा परीक्षाका सबै केन्द्र काठमाडौँमै रहनेछन्। आवेदन फारम ईपीएस नेपालमा गई अनलाइन भर्नुपर्नेछ ।
परीक्षा शुल्क अमेरिकी डलर २८ (३८६६ रुपैयाँ) लाग्नेछ। परीक्षा यूबीटी (युबिक्युटस बेस्ड टेस्ट ट्याब्लेट) मार्फत अनलाइन सञ्चालन हुनेछ । परीक्षाको नतिजा एचआरडी सर्भिस अफ कोरियाबाट प्राप्त भएपछि प्रकाशन गरिनेछ। परीक्षामा आफूले प्राप्त गरेको नतिजा अंक अनलाइनबाट प्राप्त गर्न सक्नेछन् ।
भाषा परीक्षाको वैद्यता सम्बन्धित नतिजा प्रकाशन भएको २ वर्षसम्म मात्रै रहनेछ। परीक्षामा पढाई सम्बन्धी २० वटा र सुनाई सम्बन्धि २० वटा गरी एक–एक सय पूर्णाङ्कको हुनेछ ।