Close

Recent Posts

वाशिङ्टन, डीसीमा ८ सय नेशनल गार्ड सैनिक तैनाथ गर्ने ट्रम्पको घोषणा

वाशिङ्टन, डीसीमा ८ सय नेशनल गार्ड सैनिक तैनाथ गर्ने ट्रम्पको घोषणा
  • २८ श्रावण २०८२, मंगलवार २०:२९

काठमाडौं– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले वाशिङ्टन, डीसीमा ८०० जना नेशनल गार्ड सैनिक तैनाथ गर्ने घोषणा गरेका छन् । ट्रम्पले उक्त सहरमा अपराध नियन्त्रण गर्न यो कदम आवश्यक भएको बताएका छन् । यद्यपि, वाशिङ्टन, डीसीमा सन् २०२३ मा हिंसात्मक अपराध बढेको भए पनि त्यसयता तीव्र गतिमा घटेको तथ्यांकले देखाउँछ ।

mulpatra

७८ मिनेट लामो पत्रकार सम्मेलनमा ट्रम्पले संघीय सरकारले वाशिङ्टन, डीसीको मेट्रोपोलिटन प्रहरी विभाग नियन्त्रण नियन्त्रणमा लिँदै नेशनल गार्ड तैनाथ गरिने बताएका हुन् । ट्रम्पले भनेका छन्, ‘म हाम्रो राष्ट्रको राजधानीलाई अपराध, रक्तपात, अराजकता र अस्तव्यस्तताबाट उद्धार गर्न ऐतिहासिक कदमको घोषणा गर्दैछु । यो डीसीको मुक्ति दिवस हो, र हामी हाम्रो राजधानी पुनः फिर्ता लिंदैछौ ं।’

संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको रूपमा प्राप्त अधिकारअनुसार डिस्ट्रिक्ट अफ कोलम्बिया होम रुल एक्टको धारा ७४० प्रयोग गर्दै डीसीको मेट्रोपोलिटन प्रहरी विभागलाई प्रत्यक्ष संघीय नियन्त्रणमा ल्याउँउने उनले बताए ।

ट्रम्पले थपे, ‘म वाशिङ्टन, डीसीमा कानून, व्यवस्था र सार्वजनिक सुरक्षा पुनः स्थापना गर्न नेशनल गार्ड तैनाथ गर्दैछु, र उनीहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्न स्वतन्त्रता दिइनेछ ।’

उनले राजधानीको बेघर जनसंख्यालाई हटाउने योजना रहेको पनि बताए, तर त्यो कसरी गरिनेछ भन्ने विवरण भने दिएनन्।
अमेरिकी सेनाको विज्ञप्ति अनुसार, “कुनै पनि समयमा १००–२०० सैनिकले कानून कार्यान्वयनलाई सहयोग गर्नेछन्।”

यी सैनिकहरू टाइटल ३२ अन्तर्गत काम गर्नेछ, जसले गर्दा उनीहरू राज्यीय नियन्त्रणमा रहनेछन् तर संघीय सरकारले तलब र सुविधा दिनेछ। यस अवस्थामा, उनीहरू सैन्य हस्तक्षेप निषेध ऐनबाट बाध्य हुँदैनन्, जसले अमेरिकी सैनिकहरूलाई कानून कार्यान्वयनमा संलग्न हुन रोक्दछ।

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथका अनुसार, गार्ड यसै साता डीसीमा आइपुग्नेछन्।

सिएनएनको रिपोर्ट अनुसार, गस्तीका क्रममा सैनिकहरूले खुल्ला रूपमा हतियार बोकेका नहुन सक्छन्, तर सुरक्षा आवश्यक परे नजिकै राखिएका हतियार प्रयोग गर्न सक्नेछन्।

ट्रम्पले किन चाले यस्तो कदम ?

ट्रम्पद्वारा जारी कार्यादेशमा राजधानीमा बढ्दो हिंसालाई आपतकालीन अवस्था घोषणा गरिएको छ।

‘राजधानीमा बढ्दो हिंसाले अब सार्वजनिक सेवक, नागरिक र पर्यटकको सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको छ, सुरक्षित यातायात प्रणाली र संघीय सरकारको कार्यसम्पादनमा बाधा उत्पन्न भएको’ कार्यादेशमा उल्लेख छ ।

यसमा डीसीलाई अमेरिका भित्रकै सर्वाधिक हिंसात्मक क्षेत्रहरूमध्ये एकको रूपमा उल्लेख गरिएको छ।महान्यायाधिवक्ताले राष्ट्रपति समक्ष नियमितरूपमा आपतकालीन परिस्थितिबारे रिपोर्ट दिनुपर्ने पनि कार्यादेशमा उल्लेख छ।

एड्वार्ड कोरिस्टिन नाम गरेका पूर्व सरकारी दक्षता विभागका कर्मचारीमाथि भएको आक्रमणपछि ट्रम्पको कदम आएको अनुमान गरिएको छ। प्रहरीका अनुसार, अगस्त ३ तारिख बिहान १० किशोरले उनलाई र उनको साथीलाई आक्रमण गरेका थिए। पछि १५ वर्षका दुई किशोर पक्राउ परेका थिए।

यसपछि ट्रम्पले यदि डीसीले तुरुन्त सुधार नगरेमा संघीय नियन्त्रण लिनु बाहेक विकल्प नहुने बताएका थिए ।

के वाशिङ्टन, डीसी साँच्चै अपराध संकटमा छ ?

यता डीसीकी मेयर म्युरिएल बाउजरले भने ट्रम्पको कदमलाई अस्वीकृति दिँदै राजधानी अझै पनि स्थानीय प्रशासनको नियन्त्रणमै रहेको स्पष्ट पारिन्।

उनले भनिन्, “हाम्रो संगठनात्मक संरचना परिवर्तन भएको छैन। प्रहरी प्रमुख पामेला स्मिथको नेतृत्वमा तीन हजार एक सय जना प्रहरी कर्मचारी कार्यरत छन्।”

यस्तै संघीय सैनिक तैनाथ गर्नुको सट्टा अभियोजनकर्ताका लागि थप बजेट दिनु प्रभावकारी हुने बाउजरले बताइन्।

‘हामीले पोस्ट–कोभिड समयमा केही अपराध वृद्धिको सामना गर्यौं, तर त्यसपछि कानून र रणनीतिहरू ल्याएर सुधार गरेका छौं,’ उनले भनिन्।

बाउजरका अनुसार, अहिले राजधानीमा हिंसात्मक अपराध तीन दशकयता कै न्यूनतम स्तरमा पुगेको छ। अमेरिकी न्याय मन्त्रालयले पनि सन् २०२३ देखि २०२४ सम्म हिंसात्मक अपराध ३५ प्रतिशतले घटेको प्रतिवेदन सार्वजनिक गरेको थियो। प्रारम्भिक तथ्यांकअनुसार, २०२५ मा पनि यो गिरावट जारी रहेको देखिन्छ।

यस वर्ष हत्या १२ प्रतिशत र खतरनाक हतियारसहित आक्रमण २० प्रतिशतले घटेको प्रहरीको तथ्यांकमा उल्लेख छ।

होम रुल एक्ट १९७३ एक संघीय कानुन हो, जसले पहिलो पटक वाशिङ्टन, डीसीलाई आंशिक स्वशासनको अधिकार दिएको थियो।

वाशिङ्टन, डीसी, अमेरिकी संघीय सरकारको मुख्यालय हो र यस्तो एक मात्र सहर हो जुन ५० राज्यभित्र पर्दैन।तर, यही कानुन अनुसार राष्ट्रपतिले आपतकालीन परिस्थितिमा प्रहरी विभागको नियन्त्रण लिन सक्ने उल्लेख गरिएको छ।