राष्ट्रपतिद्वारा अस्वीकार गरेको चीन भ्रमण सीसँग भेट्ने निश्चित भएपछि मात्र ओली तयार

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ)को शिखर सम्मेलनमा जान अस्वीकार गरेका छन् । स्रोतका अनुसार सल्लाहकारहरूले पहिलादेखि नै राष्ट्रपति पौडेललाई चीनसँग दूरीमा राख्ने प्रयास गरिरहेका छन् । त्यही प्रयासअनुसार एससीओमा जान रोकिएको हो । चीनले बीआरआईदेखि सैन्य मार्चसम्म गरेको निम्ता पौडेलले अस्वीकार गर्दै आएका छन् ।
चीन भ्रमणमा जान राष्ट्रपति पौडेलले अस्वीकार गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली उक्त सम्मेलनमा जान लागेको खुलेको छ । राष्ट्रपति पौडेलको चाहना भएपनि उनका सल्लाहकारहरूको टोलीले चीन भ्रमण जान रोकेको उच्च स्रोतले दाबी गरेको छ । ओलीको उक्त चाहनाअनुसार नै चिनियाँ पक्षले भेटको तालिका तय गरेको छ । र, आउँदो १८ भदौमा सीसँग ओलीको भेट हुनेछ । प्रधानमन्त्री ओली १४ भदौमा चीन भ्रमणमा जानेछन् ।
उक्त शिखर सम्मेलनको निम्ता राष्ट्रपति पौडेलले अस्वीकार गरेपछि १५ दिनअघि चिनियाँ पक्षले प्रधानमन्त्री ओलीलाई निम्ता गरेको थियो । विभिन्न मुलुकका कार्यकारी प्रमुख सहभागी हुने र उनीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने अवसर मिल्ने भएकोले ओली भ्रमणका लागि राजी भएका हुन् ।
त्यसो त, प्रधानमन्त्री ओली भने राष्ट्रपति सी चिनफिङसँग भेट निश्चित भएपछि भ्रमणबारे सार्वजनिक गरिएको हो । प्रधानमन्त्रीनिकट स्रोतले दिएको जानकारीअनुसार सीसँग भेट हुने निश्चित नहुने भएको भए ओलीले भ्रमण नगर्ने सन्देश दिएका थिए । शिखर सम्मेलन १५ र १६ भदौमा आयोजना हुँदै छ । चीनले एससीओ राष्ट्र प्रमुखहरूको सम्मेलन पाँचौँपटक आयोजना गर्न लागेको हो । यसअघि कजाखस्तानमा शिखर सम्मेलन भएको थियो ।
चीनको पहलमा गठन भएको एससीओको स्थापनामा रुस, कजाखस्तान, किर्गिस्तान, ताजिकिस्तान र उज्वेकिस्तानको सक्रियता रहेको थियो । सन् २०२३ मा इरान र २०२४ मा बेलारुस सदस्य भए । यसमा अफगानिस्तान र मंगोलिया पर्यवेक्षक मुलुक हुन् । नेपाल स्थापनाकालदेखि नै एससीओसँग सम्बन्धमा रहेको भएपनि सदस्य हुन भने सकेको छैन ।
ओलीले चीन भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सीलाई मात्र होइन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि भेट्दै छन् । चीन भ्रमणपछि भारत भ्रमणमा जान लागेका ओलीका लागि उक्त भेट अर्थपूर्ण हुने बताइएको छ । त्यसले, भारतसँगको सम्बन्ध थप सहज बनाउने ओलीको बुझाइ रहेको छ ।
एससीओसँग नेपालको स्थापनाकालदेखि नै सम्बन्ध रहँदै आएको छ । तर, भू–राजनीतिक परिस्थितिका कारण एससीओसँग नेपालको सम्बन्ध र उपस्थिति भने दरिलो हुन सकेको छैन ।
नेपालजस्तै श्रीलंका, इजिप्ट, आर्मेनिया, टर्की, साउदी अरब, कतार, बहराइन, माल्दिभ्स, म्यानमार, अजरबैजान, युएई, कम्बोडिया र कुवेत डायलग पार्टनरको रुपमा रहेका छन् ।