Close

Recent Posts

१३ लाख हेक्टरमा रोपाइँ सकियो, ६० लाख टन उत्पादन लक्ष्य

१३ लाख हेक्टरमा रोपाइँ सकियो, ६० लाख टन उत्पादन लक्ष्य
  • २ भाद्र २०८२, सोमबार २०:२२

काठमाडौं– यो वर्ष धान रोपाइँको गति केही सुस्त छ । कृषि विभागका अनुसार हालसम्म कुल खेतीयोग्य जमिनको ९४.१५ प्रतिशतमा मात्र धान रोपाइँ सम्पन्न भएको छ । जबकि, गत वर्ष भने ९८.४४ प्रतिशत खेतीयोग्य जमिनमा धान रोपाइँ भएको थियो ।

mulpatra

यो वर्ष ४.२९ प्रतिशत कम धान रोपाइँ भएको हो । समयमै पानी नपर्नु लगायतका कारण ढिलाई भएको बताइएको छ ।

मनसुन ढिलै सक्रिय भएकाले मधेस प्रदेशमा रोपाइँको गति सबैभन्दा सुस्त देखिएको छ, मधेशमा अहिलेसम्म ८६.३५ प्रतिशत मात्रै रोपाइँ सकिएको छ । सुदूरपश्चिम प्रदेश ९९.७२ प्रतिशत रोपाइँसहित अगाडि छ ।

यस्तै, कर्णालीमा ९९.३४, लुम्बिनीमा ९८.०७, बागमतीमा ९७.२७, गण्डकीमा ९४.८३ र कोशी प्रदेशमा ९४.४२ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ ।
देशभर करिब १३ लाख हेक्टर क्षेत्रफलमा रोपाइँ भइसकेको छ । यो वर्ष कुल १४ लाख हेक्टर खेतीयोग्य जमिनमध्ये बाँकी क्षेत्र भदौको दोस्रो सातासम्म रोपाइँ भइसक्ने अनुमान गरिएको छ ।

धान उत्पादनमा प्रमुख मानिने तराई क्षेत्रबाट कुल उत्पादनको ७० प्रतिशत योगदान हुने गरेको छ भने बाँकी ३० प्रतिशत पहाडी क्षेत्रबाट प्राप्त हुने मन्त्रालयको तथ्यांक छ ।

गत आर्थिक वर्षमा ५७ लाख २४ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष ६० लाख मेट्रिक टन धान उत्पादन हुने लक्ष्य राखिएको छ । त्यसबाट करिब ३५ लाख टन उपभोग्य चामल उत्पादन हुने अनुमान गरिएको छ ।