कुवेतमा विषाक्त मदिरा सेवन गरी मृत्यु भएका ५ को शव काठमाडौँ ल्याइयो

काठमाडौं– कुवेतमा विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाएका १२ जनामध्ये ५ जनाको शव नेपाल ल्याइएको छ । ज्यान गुमाउनेमा मोरङ, स्याङ्जा, लमजुङ, ताप्लेजुङ, भोजपुर, नवलपरासी, कपिलबस्तुलगायत जिल्लाका रहेको कुवेतस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।
कुवेतस्थित श्रम सहचारी गिरिप्रसाद आचार्यका यसअघि १६ नेपालीको निधन भएको भनिएकोमा ती सबै नेपाली नागरिक नभएको र नेपालीभाषी भएका कारण त्यस्तो तथ्य बाहिरिएको छ ।
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाउनेहरूको जम्मा संख्या २३ हो। यीमध्ये १२ जना नेपाली, केही नेपाली भाषी र अन्य देशका नागरिक छन् । १३ मध्ये ७ जनालाई आईसीयूमा राखेर उपचार गरिएको छ भने बाँकी स्वास्थ्य लाभ गरी डिस्चार्जको प्रक्रियामा सुरु भएको आचार्यले जानकारी दिए ।
१३ जना अझै अस्पतालमा उपचाररत छन् । यस्तै कुवेत सरकारका अधिकारीहरूले २३ जनाको मृत्यु गराउने घरेलु मदिरा उत्पादन र बिक्रीमा संलग्न रहेको आरोपमा ६७ जनालाई पक्राउ गरेको जानकारी दिएका छन्। पक्राउ पर्नेमा नेपाली पनि भएको आशंका छ ।
कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार मिसावट मदिरा सेवनबाट बिरामी पर्नेको संख्या १६० पुगेको छ। बिरामी भएकामध्ये ५१ जना तत्कालै मिर्गौला डायलाइसिस गर्नुपर्ने अवस्थामा छन् । ३१ जनालाई भने भेन्टिलेटरमा राखेर उपचार गरिएको छ। उनीहरू मध्ये केहीको अवस्था गम्भीर छ ।
पक्राउ परेकामध्ये आपराधिक नेटवर्कको नेतृत्व गरेको आरोप लागेका एक जना बंगलादेशी नागरिक पनि छन्। त्यहाँको प्रहरीले ६ वटा कारखाना र सञ्चालनको तयारीमा रहेका ४ वटा कारखाना नियन्त्रणमा लिइसकेको छ ।