Close

Recent Posts

एससीओको शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली चीन प्रस्थान

एससीओको शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली चीन प्रस्थान
  • १४ भाद्र २०८२, शनिबार ०९:३५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान चीन प्रस्थान गरेका छन्। उनी तियानजिनमा हुने सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन चीन गएका हुन्।

mulpatra

परराष्ट्र मन्त्रालयका अनुसार, प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा २३ सदस्य छन्। भ्रमण दलमा प्रधानमन्त्रीकी श्रीमती राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, सांसद छविलाल विश्वकर्मा लगायतका उच्चपदस्थ सरकारी अधिकारीहरू समावेश छन्।

प्रधानमन्त्री ओलीले भदौ १४ देखि १८ गतेसम्म चीनमा रहने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा उनले चीनका राष्ट्रपति सी चिनफिङसहित विभिन्न देशका सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। भदौ १६ गते तियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्ने प्रधानमन्त्री ओलीको तालिका छ।

संसदमा जानकारी दिँदै प्रधानमन्त्री ओलीले चीन र रुसका राष्ट्रपतिसहित कम्तीमा ६ देशका उच्च नेतृत्वसँग द्विपक्षीय वार्ता हुने बताएका थिए। साथै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्ने प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले लिपुलेक विवादलगायत नेपालको पक्षमा महत्वपूर्ण एजेन्डा उठाउने सांसदहरूको आग्रह रहेको छ। संसदमा सांसदहरूले यस मुद्दालाई चीन र भारत दुवैका नेतृत्वसमक्ष स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने धारणा राखेका थिए।

भदौ १७ गते प्रधानमन्त्री ओलीले बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नेछन्। त्यस्तै, भदौ १८ गते उनले चीनमा आयोजना हुने जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व फासिस्ट विरोधी युद्ध विजयको ८०औँ वार्षिकोत्सव समारोहमा समेत सहभागिता जनाउने कार्यक्रम छ।

सन् २००१ मा स्थापना भएको सांघाई सहयोग संगठन हाल भारत, चीन, रुससहित नौ सदस्यीय क्षेत्रीय संगठन बनेको छ। नेपाल यसमा ‘डायलोग पार्टनर’को रूपमा आबद्ध छ।

प्रधानमन्त्री ओलीले चीन भ्रमण पूरा गरेर भदौ १८ गते राति स्वदेश फर्कने कार्यक्रम छ।