जेनजीले खोलि दिए नागरिक सरकारको ढोका, ओली–देउवा युगको पतन

काठमाडौं– देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार जेनजी युवाहरूले कब्जा हुँदै थियो मूलपत्रको टिम पुग्दा । आक्रोशित युवाहरूको समूहले सिंहदरबारको मूल गेट फोडेर भित्र पसेको भिडियो आफैले कैद गरिरहँदा अनेक प्रश्न उब्जीरहेको थियो ।
त्यति मात्र होइन सिंहदरबारभित्र आगजनी शुरु भएको, सरकारी सवारी साधनहरु तोडफोड भएको दृश्य क्यामेराले कैद गरिरहँदा २०३० सालमा आगलागी भएको कथा पढेको मेरो मनमा राणाहरुले सिर्जना गरेको भव्य दरबार अब के होला भन्ने प्रश्न उब्जिरह्यो ।
प्रदर्शनकारीको भिड अनियन्त्रित भइ भित्र छिरिरहँदा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना सिंहदरबारमा पछि हटेको छ । उनीहरु भन्दै थिए हामी यो जोखिम मोल्न सक्दैनौ । प्रदर्शनकारीको भिडले सिंहदरबारभित्र रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अन्य मन्त्रालय तथा विभागहरूमा आगजनी गरेका छन् ।
सिंहदरबारको माथिको आकाशमा आगो मुस्लो उडिरहेको देखिन्छ । यो देख्दा लाग्थ्यो देशमा साँची नै विकृति रहेछ । राजनीतिक आक्रोशमा जनता रहेछन् त्यहि आक्रोस भौतिक सम्पत्तिमाथि पोखिरहेका थिए ।
२०६३ को परिवर्तनपछिका महत्वपूर्ण वर्ष यतिकै बितेर गए । सिधै भन्नु पर्दा कांग्रेस, एमाले र माओवादीले आफनो दुनो सोझयाउन भन्दा अरुतिर ध्यान दिएनन् । २३ भदौ इतिहासको कालो दिन सावित भयो । कलिला १९ जना युवाहरू राज्यको बर्बरतापूर्ण दमनका कारण मारिए । करिब ५ सय जना अस्पतालमा छटपटाइरहेका छन् ।
हिजो र आज नेपालमा भएका यी राजनीतिक घटनाक्रमहरूले एक कठोर सत्यलाई उजागर गरिरहेका छ । दशकौं देखि देशको राजनीतिक नेतृत्वमा वर्चस्व कायम गरेका केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ जस्ता नेताहरूको युग अन्त्यतिर पुगेको छ। उनीहरूकै अदुरदर्शीता, अकर्मन्यता, असफलता र स्वार्थी राजनीति नै यसको मूल कारण हो।
फेसबुक, इन्स्टा, रेडिट, डिस्कर्ड चलाउने, पब्जी, फ्रिफायरतिर लगाव राख्ने भनिएको जेनेरेसन जेड पुस्ता यो आक्रोश अगुवाई गरिरहेको थियो । जेनजीले भनेको यत्ति हो । सुशासन, पारदर्शीता, जवाफदेहिता । सामाजिक सन्जाल बन्द गर्ने सरकारी निर्णयले त्यो आक्रोशलाई ह्वात्तै बढाइदिएको मात्र हो । सुशासनको नारा हाम्रो देशमा सधैं घोषणापत्रमा मात्रै सजियो, व्यवहारमा देखिएन ।
परिस्थिति बिग्रिएपछि मात्र प्रधानमन्त्रीले राजीनामा दिए । यसले दोश्रो पुस्ताका लागि भनौ नयाँ अन्तरिमकालीन नेतृत्वका लागि ढोका खुलेको छ । परिस्थितिलाई बुझेर हिजै राजीनामा गरेका भए सम्भवतः आजको यो परिस्थिति आउँदैन थियो नै । ओलीको त्यो अकर्मन्यताले उनीमा होइनन् उनका पुस्ता र एमाले, कांग्रेसको राजनीतिक भविष्य नै अन्योलमा पारेर गए । सायद यो दर्दनाक अवसान नेपाली राजनीतिमा कसैले सोचेको थिएन होला ।
शीर्ष नेतृत्वमा रहेका शेरबहादुर देउवा, पुष्पकमल दाहालको राजनीतिक उपादेयता पनि समाप्त भएको छ । योसँगै एमाले अध्यक्ष केपी ओलीले नेपालको कम्युनिष्ट आन्दोलन र लोकतन्त्रलाई खाल्डोमा हालेर आफनो राजनीतिक अध्याय अन्त्य गरे । उनको यो दर्दनाक अन्त्यसँगै नयाँ राजनीतिकको अध्याय त सुरु भएको छ तर अझै कता पुग्छ भन्न सकिने अवस्था छैन ।
अन्य सबै दल एकातिर भइसकेको अवस्थामा सम्पूर्ण क्षति ब्योहोरेपछि बैठक डाक्ने ओलीको निर्णयको उनको अहंकारकै विस्तारित रुप मात्र हो । यो नै राजनीतिक ठुलो भुल भयो । भने नेपालको राजनीतिकमा कांग्रेसले ओलीलाई विश्वास गर्दा अहिलेको अवस्था सिर्जना भयो ।
उनीहरुले शासकीय अकर्मण्यता, नालायकी देखाउँदै समय खेर फालेका छन् । देशभरि तहसनहस भएपछि सर्वदलीय बैठक आव्हान गर्दा गर्दै उनी आफै राजीनामा दिई भाग्न वाध्य भएपछि संसद विघटनको कुरा उठेको छ र त्यो जायज पनि छ । यसले नयाँ अन्तरिम सरकार हुँदै संविधान परिवर्तन र राजनीतिक स्थायीत्वको बाटो चाहि खुलाएको छ ।
एमालेले २० देखि २२ भदौसम्म ललितपुरको गोदावरीमा आयोजना गरेको विधान महाधिवेशनमा बोल्ने क्रममा जेन–जीलाई ‘ठगी खाने’ पुस्ताको रूपमा चित्रण गरे । उनी त्यतिमा रोकिएनन्, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई नाकाबन्दीको घटनासँग जोडेर भने, ‘नाकाबन्दी सामना गरेका हामीलाई एक कम्पनीले नहल्लाए हुन्छ ।’ यो पनि एमालेका लागि घातक भयो ।
दिनभरको नयाँ बानेश्वरको चित्रण थियो, दक्षिण भारतीय चलचित्रको दृश्यजस्तो । लाइन लगाएर मान्छे मार्ने, टाउकोमा सिधै गोली हान्ने, एम्बुलेन्समा घाइते ओसारेको बेला ओसार्ने युवालाई समेत गोली हान्ने यो कस्तो शासन हो ? ओलीभित्रको सर्वसत्तावाद नभए के हो यो ? यस्तो नरसंहार के लोकतन्त्रमा सम्भव छ ?
घुँडामुनि गोली हान्नुपर्ने सामान्य सुरक्षा नियमको पालन गरेको देखिएन । लखेटीलखेटी गल्लीगल्लीमा युवाहरूलाई गोली हानियो । अस्पतालमा समेत प्रहरी प्रवेश गरेर दमन गरे । घरको पार्किङमा समेत प्रहरी छिरेर गोली हाने ।
आन्दोलन दबाउन सरकार यसरी उत्रियो कि यस्तो अवस्था राणा शासन, पञ्चायत र राजाको प्रत्यक्ष शासनका बेलासमेत भएको थिएन । हिजो ओलीलाई बा भन्नेहरू आज किन जेन–जीको आन्दोलनमा छन् ? हिजो बा भन्ने जेन–जीहरू किन ओलीबाट विधिको शासन खतरामा गएको देखे ? किन ओलीकै पालामा भ्रष्टाचार मौलाएको देखे ? किन लोकतन्त्र खतरामा भएको ठाने ? यो विषयमा एमालेजनले कहिले सोच्ने ?
पछिल्लो २०७९ को चुनावमार्फत् प्राप्त जनादेशको औचित्यमाथि संसद्मै रहेका सदस्यहरुले प्रश्न उठाउँदै राजीनामा दिन थाल्दा पनि चेत नखुलेको प्रधानमन्त्री ओलीकै अकर्मन्यताले देशमा एक किसिमको दिशाविहीनताजस्तो देखिएको छ ।
नयाँ पुस्ताको भावनालाई निरन्तर अवमूल्यन गर्दै शक्तिमा बसिराख्ने प्रधानमन्त्री ओली, अनि उनका सत्तासाझेदारहरूको नियत सिंगो समाजसामू उदांगिएको भए । सत्ता छाड्दै गर्दा एक बचन बोल्न अवसर पनि ओलीले पाएनन् ।
दशकौं राजनीतिमा राज गरिरहेका पुर्वप्रधानमन्त्री, मन्त्री देखि नेताहरुको घर आगलागीमा ध्वस्त भइरहँदा युवामा आक्रोस साम्य भएन र नै सार्वजनिक सम्पत्तिमा क्षति बढ्न पुगेको हो ।
गत तीन दशकमा यी नेताहरूले संविधान निर्माणदेखि गणतन्त्र स्थापनासम्मका महत्वपूर्ण उपलब्धि दिलाए पनि, जनताले अपेक्षा गरेको सुशासन, स्थिरता र समृद्धि भने कहिल्यै दिन सकेनन्। भ्रष्टाचार, दल–दलाली, विभाजनकारी राजनीति र स्वार्थपूर्ति उनका राजनीतिक यात्राका मुख्य परिचय बने।
यी सबै घटनाक्रमले उनलाई सत्तामा एकछिन पनि बस्ने छुट थिएन । तर जबरजस्ती बसि राखे । त्यसको नजिताले देशका भौतिक सम्पदामा अरबौंको क्षति भयो । पछिल्लो देशको यो दर्दनाक घटना प्रति तिनै नेताहरुको जिम्मेवारी छ नै । भविष्यका लागि भने दुरदर्शी नेता मात्र होइन स्थीर सरकार, सुसासन, जवाफदेहिता र जनमुखि नेतृत्वको जरुरी छ ।
नेपाललाई अब नयाँ सोच, नयाँ दृष्टि र नयाँ पुस्ताको नेतृत्व आवश्यक छ। यस्तो नेतृत्व जसले स्थिर सरकार सुनिश्चित गरोस्, सुशासन कायम गरोस् र जनमुखी विकास लाई प्राथमिकता देओस्।