Close

Recent Posts

वैदेशिक रोजगार ऐन संम्बोधन चर्चामाझ श्रममन्त्री नबोल्दा असुरक्षीतको त्रासमा म्यानपावर व्यवसायी

म्यानपावर–कामदारनै दोधारमा, व्यवसायी छाड्न पक्षमा कतिपय

वैदेशिक रोजगार ऐन संम्बोधन चर्चामाझ श्रममन्त्री नबोल्दा असुरक्षीतको त्रासमा म्यानपावर व्यवसायीम्यानपावर–कामदारनै दोधारमा, व्यवसायी छाड्न पक्षमा कतिपय
  • २२ बैशाख २०८३, मंगलवार १६:३८

काठमाडौं– वैदेशिक रोजगारी क्षेत्र अहिले अन्योल र त्रासको अवस्थामा पुगेको छ । एकातिर वैदेशिक रोजगार ऐन संशोधनको चर्चा तीव्र रूपमा चलिरहेकै बेला अर्कोतिर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राम जी यादव अध्ययनमा छन् ।

mulpatra

मन्त्रीको जिम्मेवारीमा आएको महिना दिनसम्म अस्पष्ट धारणा र मौनताले म्यानपावर व्यवसायीहरूले असुरक्षा बढाएको बताउन थालेका छन् ।

सरकारले एकातिर सुधारको सन्देश दिँदै गर्दा अर्कोतिर स्पष्टता नदिँदा वैदेशिक रोजगारी क्षेत्र झन् अन्योलतर्फ धकेलिएको देखिन्छ । यस्तो अवस्थामा स्पष्ट नीति, पारदर्शी संवाद र समयमै निर्णयको माग वैदेशिक रोजगार व्यवसायी संघको छ ।

mulpatra mulpatra mulpatra

सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित, पारदर्शी र श्रमिकमैत्री बनाउन ऐन संशोधनको अन्तिम चरणमा पुगेको बताइरहेका बेला म्यानपावर व्यवसायीहरुले भने त्यससम्बन्धी स्पष्ट खाका सार्वजनिक नहुँदा अन्योल बढेको गुनासो गर्न थालेका छन् ।

यति मात्र होइन वैदेशिक रोजगार विभागले सामान्य मुद्धामा पनि म्यानपावर व्यवसायीलाई पत्र काटेर दुख दिइरहेको, विमानस्थलमा श्रम कक्ष र अन्य कारणले पनि सरकारले व्यवसायीमाथि आक्रमण गर्ने नीति लिएको हो भन्न व्यवसायीमा शंका थपिएको एक म्यानपावर व्यवसायीले जानकारी दिए ।

विशेषगरी नीतिगत परिवर्तन कस्तो हुने, म्यानपावर कम्पनीहरूको भूमिका कस्तो रहने, र नयाँ व्यवस्था कति कडाइका साथ लागू गरिने भन्ने विषयमा अन्योल कायमै छ ।

Image Source: © https://mulpatra.com

श्रम मन्त्रालयले औपचारिक रूपमा स्पष्ट धारणा सार्वजनिक नगर्दा बजारमा हल्ला, अनुमान र त्रास फैलिएको व्यवसायीहरूको गुनासो छ । कतिपय म्यानपावर कम्पनीहरूले आगामी नीतिले आफ्नो व्यवसाय नै धरापमा पार्ने आशंका व्यक्त गरेका छन् ।

यता, कामदारका अधिकारसँगै व्यवसायीलाई व्यवस्थीत बनाउन ऐन संशोधन ढिला भए पनि कडाइका साथ कार्यान्वयन हुनुपर्नेमा जोड दिन्छन् । व्यवसायीनै वैदेशिक रोजगारी क्षेत्रको ठगी, सिण्डिकेट र अव्यवस्थित प्रक्रियालाई अन्त्य गर्न कडा नीति आवश्यक रहेको बताइरहेका छन् ।

श्रम मन्त्रालयले सुधारका लागि योजना बनाउँदै आएपनि वैदेशिक रोजगारीका समस्या सम्बोधन भएका छैन । परिणामस्वरूप, श्रमिक ठगी, अनियमितता र सिण्डिकेट जस्ता समस्या ज्यूँका त्यूँ रहेका छन् ।

वैदेशिक रोजगारी क्षेत्र सुधारका लागि जिम्मेवार निकाय भए पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रभावकारी पहल गर्न नसकेको आरोप बढ्दै गएको छ । नीतिगत सुधार, सिण्डिकेट अन्त्य, र ठगी नियन्त्रणजस्ता प्रमुख विषयमा ठोस कदम नचालिँदा क्षेत्र झन् अव्यवस्थित बन्दै गएकै बेला सरकारले व्यवसायीसम्बन्धी ठोस निर्णय सार्वजनिक नगर्दा कतिपय व्यवसायी यो क्षेत्रनै छोड्न मोडमा पुगेका छन् ।

वर्षौंदेखि वैदेशिक रोजगारीमा देखिँदै आएका समस्या-अत्यधिक शुल्क असुली, झुटा मागपत्र, र एजेन्टमार्फत हुने ठगी—अहिलेसम्म नियन्त्रणमा आउन सकेका छैनन् । सरकार परिवर्तन भए पनि नीतिगत सुधार र कार्यान्वयनको गति सुस्त नै रहेको देखिन्छ । जसका कारण व्यवसायीजस्तै कामदार दोधारमा छन् ।

विशेषगरी ‘फ्रि भिसा–फ्रि टिकट’ जस्ता नीति व्यवहारमा पूर्ण रूपमा लागू हुन नसक्नु र अनुगमन कमजोर हुनु मन्त्रालयको कमजोरीका रूपमा उठाइएको छ । यता, म्यानपावर व्यवसायीहरू पनि स्पष्ट नीति र स्थिर वातावरणको अभावमा अन्योलमा रहेको बताउँछन् । वैदेशिक रोजगार सुधार्न व्यवसायीले पनि सरकारसँग सहकार्यका लागि तयार भएकाे वैदेशिक रोजगार व्यवसायीहरुले सार्वजनिक आह्वान समेत गरेका छन् ।

यस अवस्थामा सरोकारवालाहरूले केवल नीतिगत सुधारमार्फत व्यवस्थापन नभई कडाइका साथ कार्यान्वयन, नियमित अनुगमन र पारदर्शी प्रणालीको माग गरेका छन् । वैदेशिक रोजगारी जस्तो संवेदनशील क्षेत्रमा सुधार नआउँदा यसको प्रत्यक्ष असर लाखौं नेपाली श्रमिक र देशको अर्थतन्त्रमा पर्ने देखिन्छ ।

वैदेशिक रोजगार व्यवसायीको अर्थतन्त्रमा भूमिका रहेको र यस क्षेत्रलाई सुधार्ने गरी वैदेशिक रोजगारी ऐन संशोधन हुने श्रम मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरे बताउँछन् । सरकारले कहिले पनि व्यवसायीलाई त्रास र समस्यामा पर्नेगरी कानुन नल्याउने उनले स्पष्ट पारे ।

वैदेशिक रोजगारी नेपालको अर्थतन्त्रको मुख्य आधारमध्ये एक हो, र यस प्रक्रियामा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनीहरू) को महत्वपूर्ण भूमिका रहँदै आएको सरकारले स्वीकारेको वैदेशिक रोजगार व्यवसाय संघका प्रथम उपाध्यक्ष सुजित श्रेष्ठ बताउँछन् ।

यद्यपि यस क्षेत्रलाई विवाद र आलोचनासँग पनि जोडिन्छ, आर्थिक दृष्टिले यसको योगदान बहुआयामिक भएको उनले बताए । सरकारले वैदेशिक रोजगार व्यवसायीलाई सामान्यमा हेर्दा झन समस्या जटिल हुँदै गएको देखिन्छ । सरकार र रोजगार व्यवसायी दुवै क्षेत्रका सम्बन्धीत निकाय हुन् । त्यही भएर सहकार्य गर्नुपर्छ ।’ उनले भने ।

सरकारले यस क्षेत्रमा सामान्य नीतिगत समस्या छन् । ती सुधार्दा सहजीकरण हुने उनको भनाइ छ ।

स्वदेशमा रोजगारीको सीमितता र अवसरको अभावले नेपाली युवालाई वैदेशिक रोजगारीतर्फ धकेलेको छ ।

तर यही वैदेशिक रोजगारी आज नेपालको अर्थतन्त्रको मेरुदण्ड जस्तै बनेको छ। यसको प्रभाव केवल व्यक्तिगत आयमा सीमित छैन । यो राष्ट्रिय अर्थतन्त्र, सामाजिक संरचना र रोजगारीको ढाँचासम्म फैलिएको छ ।

नेपालले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न विभिन्न देशहरूसँग श्रम सम्झौता सरकारले गदै आएको छ । कागजमा यी सम्झौताहरू कामदारको अधिकार, तलब, सुरक्षा र सुविधा सुनिश्चित गर्नका लागि बनाइएका हुन्छन् । तर व्यवहारमा भने यही सम्झौताहरू नै कमजोर कार्यान्वयनका कारण प्रभावकारी हुन सकेका छैनन् । जसका कारणल यस क्षेत्रको समस्या समाधान हुन सकेको छैन ।

नेपाल सरकार र गन्तव्य देशबीच भएका श्रम सम्झौतामा सामान्यतः न्यूनतम तलब, कार्यघण्टा, बिमा, र सुरक्षित आवासको व्यवस्था उल्लेख हुन्छ । तर कार्यस्थलमा पुगेपछि धेरै कामदारहरूले सम्झौताअनुसार सविधा पाउँदैनन् ।

नेपालले श्रम सम्झौता संख्या बढाइरहे पनि मुख्य समस्या सम्झौता होइन, कार्यान्वयन हो । यादि अनुगमन बलियो नहुने, कूटनीतिक दबाब प्रभावकारी नहुने र भर्ती प्रणाली पारदर्शी नहुने हो भने, सम्झौता जति राम्रो भए पनि कामदारको जीवनमा वास्तविक परिवर्तन आउँदैन ।

अर्थतन्त्रमा योगदान, रेमिट्यान्स वृद्धिमा प्रत्यक्ष योगदान

वैदेशिक रोजगारीको सबैभन्दा ठूलो योगदान रेमिट्यान्स विदेशबाट पठाइने रकम हो । नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) मा रेमिट्यान्सको हिस्सा करिब ३३ प्रतिशतको आसपास रहँदै आएको छ । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म ८ महिनाको अवधिमै १४ खर्ब ४९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ८ महिनाको वित्तीय विवरणअनुसार यो रेमिट्यान्स गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ३७.७ प्रतिशत बढी हो । चालु आर्थिक वर्षको फागुन महिनामा मात्रै १ खर्ब ८८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

विदेशी मुद्रा सञ्चिति (foreign exchange reserves) कायम राख्न र व्यापार घाटा धान्न यो मुख्य स्रोत हो ।

बैंकिङ प्रणालीमा तरलता बढाउने, उपभोग र लगानी बढाउने काम पनि यही पैसाले गर्छ ।

वैदेशिक रोजगारमार्फत जाने कामदारहरूले पठाउने रेमिट्यान्स नेपालको अर्थतन्त्रको मेरुदण्ड हो । व्यवसायीहरूले श्रमिकलाई विभिन्न गन्तव्य मुलुकमा पठाएर रेमिट्यान्स प्रवाह बढाउन महत्वपूर्ण भूमिका खेलेका छन्, जसले विदेशी मुद्रा सञ्चिति बलियो बनाएको छ ।

रोजगारी सिर्जना र बेरोजगारी न्यूनीकरण

म्यानपावर कम्पनीहरूले विदेशी रोजगारदाता र नेपाली श्रमिकबीच सेतुको काम गर्छन् । उनीहरूले श्रमिकलाई विदेश पठाउने प्रक्रिया सहज बनाउँदै देशभित्रको बेरोजगारी घटाउन योगदान पु¥याएका छन् ।

सेवा क्षेत्रको विस्तार
म्यानपावर कम्पनीहरू आफैं सेवा उद्योगका हिस्सा हुन् । उनीहरूले अफिस सञ्चालन, कर्मचारी व्यवस्थापन, तालिम, कागजी प्रक्रिया, स्वास्थ्य परीक्षण, बीमा लगायतका सेवामार्फत आन्तरिक अर्थतन्त्रमा पनि योगदान गर्छन् ।

राजस्व योगदान
इजाजतपत्र शुल्क, कर, नविकरण शुल्क, दस्तुर लगायतमार्फत व्यवसायीहरूले सरकारलाई राजस्व तिर्छन् । यसले सरकारी आम्दानीमा सहयोग पु¥याउँछ ।

सीप विकास र अन्तर्राष्ट्रिय श्रम बजार पहुँच
कतिपय व्यवसायीहरूले श्रमिकलाई तालिम तथा अभिमुखीकरण प्रदान गरेर उनीहरूको सीप वृद्धि गराउँछन्, जसले दीर्घकालीन रूपमा श्रम बजारमा प्रतिस्पर्धात्मक क्षमता बढाउँछ ।

तर चुनौती पनि उस्तै गम्भीर छन्

यो क्षेत्र पूर्ण रूपमा सकारात्मक मात्र छैन । अत्यधिक शुल्क असुली, ठगी, सिण्डिकेट, अपारदर्शी प्रक्रिया जस्ता समस्याले यसको विश्वसनीयतामा प्रश्न उठाएको छ । यस्ता विकृतिहरूले श्रमिक मात्र होइन, समग्र अर्थतन्त्रलाई पनि नकारात्मक असर पार्न सक्छ ।

वैदेशिक रोजगार व्यवसायीहरू नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण स्तम्भ हो भन्ने सरकारकै मन्त्रीहरुको समेत चर्चा गर्छन् । विशेषगरी रेमिट्यान्स आधारित अर्थतन्त्रमा। तर उनीहरूको भूमिकालाई अझ प्रभावकारी र सकारात्मक बनाउन कडा नियमन, पारदर्शिता, र नीतिगत सुधार अपरिहार्य छ। सही व्यवस्थापन भएमा यो क्षेत्रले दीर्घकालीन आर्थिक विकासमा अझ ठूलो योगदान दिन सक्छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com