हिन्दु धर्मावलम्वीको चाड नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
काठमाडौं । आज नवरात्रको चौथो दिन, दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो देवी कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा देवीको विशेष आराधना गर्ने प्रचलन रहेको छ ।

वैदिक सनातन धर्मअनुसार आध्यात्मिक, आधिभौतिक र आधिदैविक तीन तापलाई ‘कुष्मा’ भनिन्छ । यी तीन ताप नाश गर्ने भएकै कारण देवीलाई कुष्माण्डा नाम दिइएको धार्मिक विश्वास छ । पुराणका अनुसार उनी सुराले भरिएको घडा तथा रगतयुक्त पात्र धारण गर्ने रूपमै चिनिन्छिन् ।
श्री दुर्गा सप्तशती (चण्डी) को देवी कवचमा उल्लेख भएअनुसार त्रिविध तापयुक्त संसारलाई आफ्नो उदररूपमा धारण गर्ने भगवती नै कुष्माण्डा हुन् । भक्तजनले देवीको पूजा आराधना गर्दा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने विश्वास रहिआएको छ ।
यसअघि नवरात्रको पहिलो दिन घटस्थापनासहित शैलपुत्री देवीको आराधना गरिएको थियो भने दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिएको थियो ।
नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गरेको छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, नक्साल भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थानलगायतका मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ भने उपत्यका बाहिरका मनकामना, पालाञ्चोक भगवती, बागलुङ कालिका, विन्ध्यवासिनी, गढीमाईलगायतका शक्तिपीठमा पनि विशेष पूजा–आराधना हुँदैछ ।
