Close

Recent Posts

लद्दाख आन्दोलन भाजपा कार्यालयमा आगजनी, कम्तीमा चार जनाको मृत्यु

लद्दाख आन्दोलन भाजपा कार्यालयमा आगजनी, कम्तीमा चार जनाको मृत्यु
  • ८ आश्विन २०८२, बुधबार १८:१८

काठमाडौं– भारतको केन्द्र शासित प्रदेश लद्दाखलाई पूर्ण राज्यको दर्जा दिनुपर्ने मागसहित हिंसात्मक प्रदर्शन सुरु भएको छ । एसियाली देशमा एकपछि अर्को गर्दै आन्दोलन भइरहेको बेला यो आन्दोलन भारतको लद्दाखमा पनि पुगेको हो ।

mulpatra

बुधबार पूर्ण राज्यको माग गर्दै लेहमा प्रदर्शन भएको हो । सो क्रममा आन्दोलनकारी विद्यार्थी र सुरक्षाकर्मीबीच झडपसमेत भएको छ । आक्रोशित विद्यार्थीहरूले भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा आगो लगाइदिएका छन् भने प्रहरीमाथि ढुंगामुढा गरेका छन् । उनीहरूले सीआरपीएफको गाडीमा समेत आगजनी गरेका छन् । अहिलेसम्म कम्तीमा चार जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।

विद्यार्थीहरूले सामाजिक अभियन्ता सोनाम वाङचुकको समर्थनमा विरोध प्रदर्शन सुरु गरेका हुन् । वाङचुक पछिल्लो १५ दिनदेखि भोक हडतालमा बसिरहेका छन् । उनीहरूले माग पूरा नगरेको विरोधमा बन्द आह्वान गरेका थिए । सो क्रममा हिंसात्मक झडपका घटना भएका हुन् ।

आफ्नो अनशनलाई सरकारले गम्भीरतापूर्वक नलिइरहेको बेला हिंसा भड्किएपछि वाङचुकले अनशन तोड्दै यसलाई लद्दाखका लागि दुःखको दिन भएको बताएका छन् । उनले आफूहरू पाँच वर्षदेखि शान्तिको बाटोमा हिँडिरहेको, अनशन गरेको, लेहदेखि दिल्लीसम्म पैदल गए पनि शान्तिको बाटो असफल हुँदै गएको देखिएको टिप्पणी गरेका छन् । उनले हिंसा, गोलीबारी र आगजनी भइरहेको भन्दै युवाहरूलाई हिंसात्मक गतिविधि त्याग्न आग्रह गरेका छन् । उनले अनशन तोडेर प्रदर्शन रोक्न अपिल गरेका छन् ।

प्रदर्शनकारीहरूले लद्दाखलाई पूर्ण राज्यको दर्ता दिनुपर्ने, अनुसूची ६ अनुसार संवैधानिक सुरक्षा दिनुपर्ने, कारगिल र लेहलाई अलगअलग लोकसभा सिट बनाउनुपर्ने, सरकारी जागिरमा स्थानीयलाई भर्ती गर्नुपर्नेजस्ता माग राखेर प्रदर्शन सुरु गरेका हुन् । यी मागलाई लिएर अर्को बैठक दिल्लीमा ६ अक्टुबरमा हुनेछ ।