Close

Recent Posts

वैदेशिक रोजगारीबाट १९ लाखभन्दा बढी कामदार सामाजिक सुरक्षा कोषमा जोडिए

वैदेशिक रोजगारीबाट १९ लाखभन्दा बढी कामदार सामाजिक सुरक्षा कोषमा जोडिए
  • ११ आश्विन २०८२, शनिबार १९:३६

काठमाडौं – वैदेशिक रोजगारीमा रहेका १९ लाख २ हजार श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचिकृत भएका छन् । वैदेशिक रोजगारीमा रहेका श्रमिकको संख्या धेरै भए पनि ९० प्रतिशत श्रमिकको योगदान रकम नियमित गराउन भने कोष असफल भएको छ ।

mulpatra

हालसम्म वैदेशिक रोजगारीमा जाने श्रमिकले कोषमा ४ अर्ब ५७ करोड ४५ लाख रुपैयाँ जम्मा गरेका छन् । वैदेशिक रोजगारीमा जाने अधिकांश श्रमिक श्रम स्वीकृतिको प्रक्रियाका लागि मात्र योजनामा सूचीकरण हुने गरेको देखिएपछि कोषले कार्यविधिमा संशोधन गर्ने तयारी गरेको हो ।

वैदेशिक रोजगारीमा जानुअघि श्रम स्वीकृति लिँदा सामाजिक सुरक्षामा पनि अनिवार्य सूचीकृत हुनु पर्ने प्रावधानका कारण विदेशमा रहेका श्रमिकको संख्या बढी भएको हो ।

सामाजिक सुरक्षा कोषले विदेशमा रहेका श्रमिकको योगादान रकम नियमित गराउन विभिन्न लाभमूलक योजना ल्याउने तयारी गरेको छ । कोषका सह प्रवक्ता केदारनाथ ज्ञवालीका अनुसार वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योगदान रकम नियमित गराउन कोषले चालु आवमा केही नयाँ योजना ल्याउने तयारी गरेको बताए ।

अहिलेसम्म यो योजनामा सूचीकृत भएका १९ लाख श्रमिकमध्ये लगभग १० प्रतिशतले मात्र योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा नियमित रकम जम्मा गर्दै आएका छन् । यो तथ्यांकले विदेश जानका लागि मात्र कामदार योजनामा आबद्ध भएको देखाएको छ ।

कोषले योगदान रकमलाई नियमित गराउन तथा कोष सूचीकृत गराउने अभिप्रायले कार्यविधिमा संशोधन गर्न समिति बनेको जनाएको छ । समितिले दिएको सुझावका आधारमा कार्यविधि संशोधन गरी सुविधा बढाइने छ । सरकारले सबै वर्गका श्रमिक तथा कर्मचारीलाई सामाजिक सुरक्षामा अनिवार्य सूचीकरण भएर नियमित योगदान रकम जम्मा गर्ने प्रावधान बनाए पनि वैदेशिक रोजगारीमा रहेका अधिकांश श्रमिकको योगदान रकम नियमित हुन सकेको छैन ।

यसैगरी वैदेशिक क्षेत्र सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिमा संशोधन गरेर आकर्षण गराउने लाभका योजना थप गर्ने तयारी कोषले गरेको छ । श्रम स्वीकृति लिन मात्र कोषमा रकम जम्मा गर्नु पर्ने बुझाइका कारण रकम नियमित हुने गरेको छैन । सामाजिक सुरक्षा योजनाको फाइदाभन्दा पनि श्रम स्वीकृति पाउन बाध्य भएर रकम जम्मा गर्ने गरेको जस्तो देखिएको छ ।

सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकको हितका लागि सञ्चालनमा ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा विदेशमा रहेका युवाले बाध्यता र औपचारिकताका लागि मात्र रकम जम्मा गर्नेे गरेको पाइएको छ ।

रोजगारीका लागि विदेश जाने अधिकांक्ष्श युवाले विदेश पुगेपछि सामाजिक सुरक्षाको योगदान रकम नियमित नगर्दा सूचीकरण हुनेको संख्या औपचारिक श्रमिकभन्दा दोब्बर भए पनि रकम संकलन भने न्यून रहेको छ ।

सरकारले वैदेशिक रोजगारीमा जानेलाई कोषमा सूचीकरण अनिवार्य गरेको छ । सरकारले वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगार रहेका नेपालीलाई योजनामा सहभागी गराउन प्रमुख श्रम गन्तव्यका नियोगलाई समेत अनुरोध गरिरहेका कारण योगदानकर्ता बढ्ने कोषको विश्वास छ ।

अघिल्लो वर्षको चैतदेखि सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने योजना कार्यान्वयनमा ल्याएपछि यो संख्यामा श्रमिक आबद्ध भएका हुन् । श्रम स्वीकृतिका बेला सूचीकरण भएका १७ लाख ११ हजार श्रमिकको योगदान नियमित छैन ।

वैदेशिक रोजगारीमा गएका श्रमिकको नियमित योगदानको सुनिश्चितता गराउने विषय कोषका लागि प्रमुख चुनौती बनेको छ ।