हबिबको स्वामित्व बेच्न राष्ट्र बैंकले दियो स्वीकृति, तिहारपछि हक हस्तान्तरण

काठमाडौं– नेपाल राष्ट्र बैंकले हिमालयन बैंकमा रहेको पाकिस्तानी बहुराष्ट्रिय बैंक हबिबको सेयर विक्री गर्न अन्तिम स्वीकृति दिएको छ । केन्द्रिय बैंकका गभर्नरको अध्यक्षतामा बस्ने व्यवस्थापन समितिले सेयर विक्री गर्न स्वीकृति प्रदान गरेको हो ।
यसरी स्वीकृति दिएको पत्र आइतबारमात्रै बैंकमा प्राप्त भएको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाले अर्थपथलाई बताए । उनले भने, ‘अब नेपाल धितोपत्र बोर्ड, नेप्से लगायतका नियामकको अनुमति लिएर कम्पनी रजिस्ट्रारबाट स्वामित्व हस्तान्तरण हुन्छ ।’
विभिन्न निमायसँग समन्वय गरेर कम्पनी रजिस्ट्रारबाट स्वामित्व हस्तान्तरण गर्न तिहार पछिसम्म लाग्नसक्ने सीईओ राणाले जानकारी दिए । त्यसपछि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले हिमालयन बैंकको सबैभन्दा ठूलो संस्थापक शेयर धनी बन्ने छ ।
तीन दशकअघि निजी तौरबाट बैंक खोल्ने र चलाउने अभ्यास सुरु हुँदै गर्दा हबिबले नेपालमा आफ्नो पाउ राखेको थियो । त्यसबेला नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर हिमालय शम्शेर जबरा र उनका ज्वाइँ पृथ्वीबहादुर पाँडेको नेतृत्वमा ३३ वर्षअघि खुलेको हिमालयन बैंकमा २० प्रतिशत लगानी गरेको थियो ।
पछिल्लो समय हिमालयनले सिभिल बैंकलाई गाभेपछि उसको स्वमित्व १३ प्रतिशतभन्दा पनि कम भएको थियो । हबिबले सिभिलसँग मर्जरमा जानुअघि नै आफ्नो स्वामित्व बेच्न खोजेको हो । थुप्रै प्रयासपछि अन्ततः हबिबलाई नेपालबाट बाहिरिने बाटो खुलेको हो ।
हबिबले आफ्नो नाममा रहेको २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर नेशनल लाइफ इन्स्योरेन्सलाई विक्री गर्न लागेको छ । यसका लागि नेशनल लाइफले प्रतिकित्ता ११८ रुपैयाँ ८८ पैसामा सेयर किन्न राजि भएपछि गत साउन अन्तिम साता सम्झौता भएको थियो ।
यसरी नेशनल लाइफले ३ अर्ब ३३ करोड रुपैयाँभन्दा धेरै पैसा तिर्ने छ ।