मेची भन्सारबाट अलैँची निर्यात बढ्यो, तीन महिनामै १ अर्ब ६७ करोडभन्दा बढीको निर्यात
काठमाडौं– मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासमा अलैँची निर्यात ३३ प्रतिशतले बढेको छ । कार्यालयको तथ्यांकअनुसार उक्त अवधिमा १ अर्ब ६७ करोड ९१ लाख ७५ हजारबराबरको अलैँची निर्यात भएको हो ।

तीन महिनामा १ हजार ७२ मेट्रिकटन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए । अघिल्लो आव २०८१÷८२ को सोही अवधिमा १ अर्ब ७ करोड २२ लाख रुपैयाँबराबरको अलैँची निर्यात भएको थियो ।
चियाको निर्यात भने घट्यो
कार्यालयको तथ्यांकअनुसार चालु आवको तीन महिनामा चियाको निर्यात ४० दशमलव ९० प्रतिशतले घटेको छ । उक्त अवधिमा १ अर्ब १ करोड २१ लाख ८६ हजार मूल्यबराबरको चिया निर्यात भएको छ । अघिल्लो आव २०८१÷८२ को सोही अवधिमा १ अर्ब ७१ करोड ४० लाख ३१ हजारबराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिए ।
कार्यालयको तथ्यांकअनुसार निर्यात हुने मुख्य वस्तुहरूमा भेनियर सिट एक सय २६ प्रतिशत, छुर्पी ६१ दशमलव ८० प्रतिशत, प्लाइउड शतप्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ७१ दशमलव ४० प्रतिशत, धातुका अन्य अवशेष शतप्रतिशत, मुसुरो दाल चार सय ८१ प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरी अदुवा ३२ दशमलव ३० प्रतिशत र अम्रिसो निर्यातमा २४ प्रतिशतले कमी आएको छ । मेची भन्साबाट चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो तीन महिनामा रु चार अर्ब ८० करोड ३९ लाख २४ हजारको मालवस्तु निर्यात भएको छ
