आजदेखि बुधबार बिहानसम्म हिमपात–वर्षाको सम्भावना, सतर्कता अपनाउन सुझाव
काठमाडौं– नेपालमा एकसाथ पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावका कारण आज रातिदेखि बुधबार बिहानसम्म हुने अनुमान गरिएको छ ।

देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना देखिएकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सम्बन्धित सबैलाई सुझाव दिएको छ ।
महाशाखाले सोमबार दिउँसो १२ बजे पोस्ट मनसुन विशेष मौसम बुलेटिन–१ जारी गर्दै आज कात्तिक १० गते रातिदेखि १२ गते (बुधबार) बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाड तथा हिमाल भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको जानकारी दिएको हो ।
साथै यस अवधिमा गण्डकी प्रदेशका उच्च पहाड तथा हिमाल भूभागका एक–दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको उल्लेख छ ।
सजग गराउँदै महाशाखाले अगाडि भनेको छ, ‘सम्भावित हिमपात÷वर्षाको कारणले दैनिक जनजीवन, पर्वतारोहणलगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्ने सम्भावना भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ।’
