असोजमै विदेशमा मृत्यु भएका ९३ कामदारको शव ढुवानी
काठमाडौं– वैदेशिक रोजगार बोर्डले असोज महिनामा मात्रै वैदेशिक रोजगारीमा गई मृत्यु भएका ९३ श्रमिकको शव ढुवानी गरेको छ । असोजमा मात्रै ९८ जना मृतक श्रमिकका परिवारले बोर्डबाट आर्थिक सहायता लिएका छन् ।

बोर्डले श्रम स्वीकृति लिएर गएकाहरू मृत्यु भएको अवस्थामा उनीहरूको परिवारलाई १० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ ।
बोर्डले विभिन्न गन्तव्य मुलुकमा मृत्यु भएका श्रमिकको शव घर तथा घाटसम्म ढुवानी गरिदिएको हो । यस्तो रकम श्रमिकहरूले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट दिइन्छ ।
त्यसैगरी काम गर्ने क्रममा अंगभंग तथा बिरामी भएका ४२ जनाले एक महिनाको अवधिमा बोर्डबाट आर्थिक सहायता लिएका छन् । बोर्डका अनुसार उद्धार तथा खोजतलासका लागि ३ जनाले निवेदन दिएका छन्। शव झिकाउन २८ जनाले निवेदन दिएका छन् ।
नेपालबाट वैदेशिक रोजगारीका लागि विश्वका १६० भन्दा धेरै मुलुकहरूमा नेपालीहरू जाने गरेका छ्न् । यी मुलुकमा काम गर्ने क्रममा अंगभंग भएर तथा ज्यान गुमाएर फर्किनेहरूको तथ्यांक भयावह छ । अधिकांश रोजगारदाता मुलुकमा कार्यस्थल सुरक्षा, बीमा लगायत सुविधा नहुँदा नेपाली श्रमिकहरू मारमा परिरहेका छन् ।
