कोषमा २६ लाख योगदानकर्ता, ९४ अर्ब जम्मा सवा १७ अर्बको दाबी भुक्तानी
काठमाडौँ– सामाजिक सुरक्षा कोष (एसएसएफ)मा योगदन गर्ने योगदानकर्ताको संख्या २५ लाख ९२ हजार १४१ पुगेको छ । गत शुक्रबार कोषले जारी गरेको विवरण अनुसार यसमध्ये १९ लाख ४८ हजार ४६२ जना वैदेशिक रोजगारीमा जानेहरु छन् ।

नेपालमै जागिर खाने कर्मचारी र रोजगारदाता (मालिक)हरुसमेत गरेर जम्मा ६ लाख ४२ हजार ३४५ जनाले कोषमा योगदान गरिरहेका छन् । यसबाहेक अनौपचारिक क्षेत्रका कामदार ७९४ जना र स्वरोजगारमा रहेका ५४० जनाले पनि योगदान गरिरहेका छन् ।
यस्तो तथ्यांकले अनौपचारिक क्षेत्र र स्वारोजगारहरुलाई कोषमा भित्र्याउन अझै पनि सकस परिरहेको देखिन्छ । यसरी झण्डै २६ लाख योगदानकर्ताले कोषमा जम्मा गरेको पैसा ९४ अर्ब ९ करोड पुगेको छ । त्यसको १८.३८ प्रतिशत विभिन्न किसिमका दाबीमा भुक्तानी गरिसकेको कोषले जनाएको छ ।
हालसम्म विभिन्न शीर्षकमा कोषले १७ अर्ब २९ करोड रुपैयाँ भुक्तानी दिएको छ । यस्तो भुक्तानी २ लाख ४७ हजार ८०३ जनाले पाएका छन् । यसरी हेर्दा २५ लाख ९२ हजार योगदानकर्तामध्ये करीब ६ लाख ४४ हजार जना नेपालमै बस्छन् । उनीहरुमध्ये पनि झण्डै ४ लाख जनाले अहिलेसम्म कुनै पनि भुक्तानीको सुविधा नलिएको देखिएको छ । अनुपातमा हेर्ने हो भने झण्डैले ३ जनामध्ये एक जनाले मात्रै विभिन्न किसिमका सुविधा उपयोग गरेको देखिएको हो ।
![]() |
![]() |
![]() |
|---|
कुल १७ अर्ब २९ करोड ३० लाखभन्दा बढी रकम दाबी भुक्तानी गरेको कोषले जनाएको छ । उक्त दाबीमध्ये १४ प्रतिशत अर्थात् २ अर्ब ४२ करोडभन्दा बढी रकम औषधि उपचार, स्वास्थ्य तथा मातृत्व शीर्षकमा दाबी भुक्तानी भएको छ ।
कुल दाबीको १.३ प्रतिशत अर्थात् २२ करोड ३१ लाख रुपैयाँ दुर्घटना तथा अशक्तता सुरक्षा दाबीमा भुक्तानी भएको छ । त्यस्तै आश्रित परिवार सुरक्षा दाबीमा १.६४ प्रतिशत अर्थात् २८ करोड ३६ लाख भुक्तानी भएको छ ।
सबैभन्दा ठूलो दाबी भुक्तानी भने अवकाश दाबीमा भुक्तानी भएको छ । यस्तो दाबीमा चाहीँ कुल दाबी भुक्तानीको ८३ प्रतिशतभन्दा बढी छ । यो शीर्षकमा कोषले १४ अर्ब ३६ करोड १२ लाख दाबी भुक्तानी गरेको छ ।
Image Source: © https://mulpatra.com



