दिल्ली विस्फोटमा नेपालमा किनेको मोबाइल कनेक्सन
काठमाडौं– भारतको नयाँ दिल्लीस्थित लालकिला नजिकै १० नोभेम्बरमा भएको विस्फोटबारे त्यहाँको प्रहरीले अनुसन्धान जारी राखेको छ । अहिलेसम्मको अनुसन्धानबाट विस्फोटमा संलग्नहरूले नेपालमा किनेको मोबाइल प्रयोग गरेको तथ्य पत्ता लागेको प्रहरीले जनाएको छ ।

भारतको नेशनल इभेस्टिगेसन एजेन्सी (एनआईए)ले जनाए अनुसार लाल किलामा विस्फोटका लागि आतंकवादीहरूले कुल ७ वटा ‘सेकेन्ड ह्यान्ड’ मोबाइल फोन र १७ सिमकार्ड प्रयोग गरेका थिए । उनीहरूले प्रयोग गरेका सात वटै सेकेन्ड ह्यान्ड मोबाइल फोन नेपालमा खरिद गरेको पाइएको एनआईएले जनाएको छ ।
१७ वटा सिमकार्डमध्ये ६ वटा भारतकै कानपुरमा खरिद गरेको पाइएको पनि एनआईएले जानकारी दिएको छ । तीमध्ये दुई सिमकार्ड बेकनगञ्ज निवासीको परिचयपत्रका आधारमा लिएको पाइएको छ ।
एनआईएले सोमबार लालकिला विस्फोट सम्बन्धमा एक आरोपितलाई दिल्लीस्थित अदालतमा पेस गरेको छ । आरोपित आमिर राशिद अलीलाई अदालतको अनुमति लिएर १० दिनका लागि न्यायिक हिरासतमा राखिएको छ ।
विस्फोटमा प्रयोग भएको कार आमिर राशिद अलीकै नाममा दर्ता रहेको पाइएको एनआईएले जनाएको छ ।
