३८२ परियोजनका लागि साढे ३६ अर्बको वैदेशिक लगानी प्रतिवद्धता

३८२ परियोजनका लागि साढे ३६ अर्बको वैदेशिक लगानी प्रतिवद्धता
  • ६ मंसिर २०८२, शुक्रबार ०९:०८

काठमाडौं– चार महिनामा साढे ३६ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । झन्डै ४०० वटा परियोजनाका लागि सो बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको देखिन्छ ।

mulpatra

उद्योग विभागले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८२–८३ को कात्तिक मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । विभागका अनुसार कात्तिक मसान्तसम्म कुल ३६ अर्ब ६८ करोड १६ लाख ८६ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । सो अवधिमा ३८२ वटा परियोजनाका लागि सो बराबरको प्रतिवद्धता आएको हो ।

विभागका अनुसार अटोमेटिक रुट मार्फत २५१ परियोजनका लागि २ अर्ब ३६ करोड ५८ लाख ८६ हजार रुपैयाँ र अप्रुभल रुटमा मार्फत १३१ परियोजनाका लागि ३४ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको हो । प्रतिवद्धता भएका ती परियोजनाहरु संचालनमा आएमा ३३ हजार ८१४ जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् ।

हालसम्म भने ६ खर्ब ८६ अर्ब ५ करोड ८० लाख ७१ हजार रुपैयाँ बराबरको वैदेशिक प्रतिवद्धता ७ हजार ६२१ परियोजनका लागि आएको छ । विभागका अनुसार ती परियोजना संचालनमा आएमा भने ३ लाख ६० हजार ३८२ जनाले रोजगारी पाउने छन् ।

चालु आवको पहिलो चार महिनामा सबैभन्दा धेरै परियोजना सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रका परियोजनका लागि लगानी प्रतिवद्धता आएको हो । यस क्षेत्रमा मात्र २०५ परियोजना स्वीकृत भएका छन् । यद्यपि, परियोजनाको संख्या ठूलो भए पनि लगानी रकम भने करिब ८७ करोड ४३ लाख रुपैयाँमै सीमित रहेको छ ।

विभाग अनुसार सबैभन्दा धेरै पूँजी आकर्षण भने कृषि तथा वनआधारित उद्योगमा देखिएको छ । यो क्षेत्रमा १३ परियोजनाका लागि २१ अर्ब ८८ करोड रुपैयाँ भन्दा बढी लगानी प्रतिवद्धता आएको ।

यस्तै, पर्यटन क्षेत्रमा ११८ परियोजना मार्फत ८ अर्ब ९४ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । यता, सेवा क्षेत्रमा ३ अर्ब ९ करोड, उत्पादनमूलक क्षेत्रमा १ अर्ब ६५ करोड, ऊर्जामा १८ करोड तथा खानी क्षेत्रका लागि ४५ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ ।