इनरुवाकप्तानगञ्ज सडक निर्माणको ठेक्का तोडियो
काठमाडौं– हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा–कप्तानगञ्ज २२.६६ किलोमिटर सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ ।

सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सूचना निकालेर ठेक्का तोडिएको जानकारी दिएको हो । सूचनामा यो सडक निर्माणका लागि गौरीपार्वती–देव एण्ड सायर–भूमि संयुक्त उपक्रम (जेभी), विराटनगरसँगको ठेक्का सम्झौता तोडिएको उल्लेख छ ।
सडक स्तरोन्नतिका लागि उक्त जेभीसँग २ माघ २०७८मा ५२ करोड ७० लाख रुपैयाँमा (करसहित)ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार सडक निर्माण साउन २०८१ भित्र सम्पन्न गर्नुपर्नेमा निर्माण प्रगति करिब १८ प्रतिशत मात्र छ ।
ठेक्का सम्झौता २०८३ असारसम्म थप गरिएकोमा पटक–पटक ताकेता गर्दा काम नगरेको, प्रतिबद्धता बमोजिम काम नगरेको र साइट ठप्प बनाएकाले ठेक्का तोडिएको योजना कार्यालय इटहरीले जनाएको छ ।
ठेक्का सम्झौता रद्ध गरिएका निर्माण व्यवसायीकले कार्य सम्पादन जमानत वापतको १६ करोड ९४ लाख र पेश्की २ करोड ३१ लाख १ करोड ७१ लाख रुपैयाँ जफत गरिने छ । पेश्की रकममा १० प्रतिशत व्याजसहित असुल हुनेछ । निर्माण व्यवसायीयले अनुमानित लागतभन्दा करिब ५० प्रतिशत कम रकम कबोल गरेको थियो ।
योजना कार्यालय इटहरीबाट गत साउनमा ठेक्का किन नतोड्ने ? भन्दै निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधिएको थियो । निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्ध गरिएको हो ।

