३ महिनामा साढे ५ खर्ब ५३ अर्ब रेमिट्यान्स, करिब चार खर्ब व्यापार घाटा
काठमाडौँ– चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) मा ३५ दशमलव चार प्रतिशत वृद्धि देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार यो अवधिमा पाँच खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ बराबरको विप्रेषण स्वदेश भित्रिएको छ । यही समीक्षा अवधिमा कूल वस्तु व्यापार घाटा भने १२ दशमलव दुई प्रतिशतले वृद्धि भएर तीन खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ११ दशमलव नौ प्रतिशतले वृद्धि भई चार खर्ब आठ अर्ब ७७ करोड रुपैयाँ रहेको थियो ।
चालु आवको पहिलो महिना अर्थात् गत साउनमा विप्रेषण आप्रवाह २९ दशमलव नौ प्रतिशतले वृद्धि भई एक खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ बराबर पुगेको थियो ।
यस्तै, भदौ महिनामा विप्रेषण आप्रवाह ३३ दशमलव एक प्रतिशतले वृद्धि भई तीन खर्ब ५२ अर्ब आठ करोड रुपैयाँ पुगेको थियो । चालु आवको पहिलो त्रैमासमा चालु खाता दुई खर्ब ३७ अर्ब ५९ करोड रुपैयाँ र शोधनान्तर दुई खर्ब ६४ अर्ब तीन करोड रुपैयाँले बचतमा छ ।
अघिल्लो आवको सोही अवधिमा चालु खाता एक खर्ब १५ अर्ब ३६ करोड रुपैयाँ र शोधनान्तर एक खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँले बचतमा थियो ।
यसैगरी, चालु आवको पहिलो तीन महिनामा कूल वस्तु निर्यात ८९ दशमलव छ प्रतिशतले वृद्धि भई ७२ अर्ब ७८ करोड रुपैयाँ कायम भएको छ । यो अवधिमा वस्तु आयात १९ दशमलव आठ प्रतिशतले बृद्धि भई चार खर्ब ६८ अर्ब आठ करोड रुपैयाँ कायम भएको छ ।
