‘रियल इस्टेट ब्रोकर’को लाइसेन्स लिन निवेदन दिने म्याद थपियो
काठमाडौँ– भूमि व्यवस्थापन तथा अभिलेख विभागले ‘रियल इस्टेट ब्रोकर’को लाइसेन्सका लागि आवेदन दिने म्याद थप गरेको छ । सोमबार एउटा सूचना जारी गर्दै म्याद थपको जानकारी दिइएको हो ।

मालपोत ऐनले घरजग्गा सम्बन्धी कारोबार गर्न इजाजतपत्र (लाइसेन्स) लिनुपर्ने व्यवस्था गरेपछि गत असोज २७ मा राजपत्रमा एउटा सूचना निकालेर पहिलो चरणमा यस्तो लाइसेन्सको कार्यान्वयन महानगरपालिका र उपमहानगरपालिकाका लागि लागू हुने व्यवस्था गरेको थियो ।
त्यसपछि भूमि व्यवस्था तथा अभिलेख विभागले कात्तिक १३ मा सूचना प्रकाशिन गरी फर्म, कम्पनी वा संस्थालाई ३० दिनभित्र निवेदन दिन भनेको थियो । त्यो म्याद मंसिर १२ मा सकिएको छ ।
यही कारण मंसिर १३ देखि १५ दिनका लागि म्याद थप गरिएको विभागले जनाएको छ । अब यही मंसिर २७ गतेसम्म आवेदन दिन सकिने भएको छ ।
