ओलीको असफल मेगामाइण्ड राजनीति ‘नायक बन्न चुके, प्रतिद्वन्द्वी जन्माउन डराए’

ओलीको असफल मेगामाइण्ड राजनीति ‘नायक बन्न चुके, प्रतिद्वन्द्वी जन्माउन डराए’
  • २५ मंसिर २०८२, बुधबार १७:०७

एघारौ महाधिवेशनमा होमिएको नेकपा (एमाले) भित्र पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध उम्मेदवारी घोषणा गरेपछि पार्टी नेता ईश्वर पोखरेल चर्चामा छन् ।

mulpatra

नेकपा विघटन पश्चात एमाले समेत फुट्न पुग्यो । एमालेमा खासगरि ओली विरोधी नेताहरुले नेकपा एकिकृत समाजवादी पार्टी गठन गरेपछि एमाले अझ ओली पक्षियहरुलाई भिलेन बेगरको एमाले झै लागेको थियो । त्यसपछि केपी शर्मा ओलीको एकछत्र झै चलेको पार्टीमा महाधिवेशन गर्ने र सर्वसम्मत हुने बढो ठुलो धोको थियो । त्यो धोकोलाई भिम रावलले विराम लगाइदिए पछि महाधिवेशनमा अनौठो शैली देखापर्यो ‘फलाना फलानालाई भोट नहाल्ने’ भनेर चिर्कटो बाँड्न वाध्य भए स्वयं ओली ।

अघिल्लो महाधिवेशनमा उनै ओली निकट रहेका ईश्वर पोखरेलले अध्यक्षको उम्मेदवारी दिने घोषणा भएपछि फेरी पनि सर्वसम्मत र सर्वमान्य नेता हुने धोको ‘धोकै’ रहने भएको छ ओलीको ।

mulpatra mulpatra mulpatra

विद्यादेवी भण्डारीको साथ ईश्वरलाई

अध्यक्ष ओलीले पुनः तेश्रो पटक आफै अध्यक्ष बन्न ७० बर्षे उमेरहद मात्र हटाएनन् दुई कार्याकालको व्यवस्था समेत खारेज गराए । आफु अनुकुल विधान फेरबदल गरिरहने ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा आउन नदिन थरीथरीका दाउपेच चलाए ।

ओलीको त्यही दाउपेचको शिकार भएकी पुर्व पार्टी उपाध्यक्ष, पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा देशभरि माहोल बन्यो । उनी राजनीतिमा विशेषगरि एमालेको नेतृत्वमा आए कम्युनिष्ट एक हुन सक्ने, एमाले कार्यकर्तामाझ पुनः आशाको किरण जाग्ने धेरैले ठानिरहेका थिए । विपक्षी दल खासगरि तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देखि समाजवादीका माधव नेपाल लगायतका हालको नेपाली कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु समेत विद्यादेवी भण्डारी एमाले राजनीतिमा आउनु नेपाली कम्युनिष्ट आन्दोलनलाई फाइदा हुने आंकलन गरिरहेका थिए ।

Image Source: © https://mulpatra.com

तर उनै विद्या देवी भण्डारीलाई राजनीतिमा आउन रोक्न हालसम्म ओली सफल देखिएका छन् तर त्यो सफलताले उनको निद हराम गरिदिएको छ । विद्या भण्डारीको साथ सहयोगमा ईश्वर पोखरेल अध्यक्षको उम्मेद्वारी दिन तयार भएको दिन देखि हो अध्यक्ष ओलीको निद्रा खल्बलीएको ।

भोजपुरको मानेभञ्ज्याङबाट काठमाडौं सम्मको जीवनको यात्रामा अनेक संघर्ष गरेको एमालेकी पुर्व उपाध्यक्ष तथा पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक जीवन समेत त्यतिकै लामो छ । तत्कालिन नेकपा (माले)को युवा लीगबाट अनेरास्ववियु हुँदै प्रथम पटक मोरड क्याम्पसको स्ववियू कोशाध्यक्षमा जननिर्वाचित हुन पुगेकी थिइन ।

नेपाल ट्रेड युनियन महासंघ जिफण्टको महिला बिभाग प्रमुख भएकै बेला २०५४ सालमा एमालेको छैटौ महाधिवेशनबाट प्रथम पटक एमालेको केन्द्रिय कमिटी सदस्य निर्वाचित भएर २०६४ देखि २०७१ साल सम्म पार्टीको उपाध्यक्ष रहँदा उनको योगदानको कदर सबैले गरेकै छन् ।

कांग्रेसका तत्कालीन सभापति तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई लाई पराजित गर्दैै संसदीय फाँटमा छिरेकी उनी वातावरण तथा जनसंख्या, रक्षा मन्त्री हुँदै गरिमामय राष्ट्रपति पदमा पुग्न सफल भएकी हुन् ।

राष्ट्रपति पदबाट बाहिरिएपछि विद्याले चाहेको पार्टी काम गर्ने इच्छालाई रोक्नु पर्ने केही कारण नभएको आम कार्यकर्ता, शुभेच्छुकहरुमा रहँदा रहँदै पनि पार्टीको संगठीत सदस्यै नरहेको घोषणा गर्ने एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विद्याको छाँया देखि समेत डराउन थालेको आरोप धेरैले लगाउन थालेका छन् ।

जेनजीको प्रभाव

ओली सरकारले भदौमा सामाजिक सन्जाल फेसबुक, युट्युव बन्द गरिदिएपछि जेनजी आन्दोलन शुरु भयो । तर आन्दोलनमा आएका जेनजीहरुको अबमुल्यन गर्दै प्रधानमन्त्रीका रुपमा रहेका ओलीले अभिव्यक्ति दिएपछि २४ घण्टामा सरकारबाट राजीनामा गरेर हेलीकप्टरमा भाग्नु पर्ने परिणतीको साक्षी आम नेपालीलाई ओलीले नै बनाइ दिए ।

जेनजी आन्दोलनमा अघिल्लो दिन मारिएका निर्दोष १९ जनाको बलिदानमा एक शब्द खर्चिएनन् ओलीले । विधान संसोधनमा आफुले चाहेको विधान पारित गरेर दम्भ पालेका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले उल्टै ‘जेनजी मागी खाने भाँडो हो र’ भन्ने अभिव्यक्ति दिएपछि उनलाई बालुवाटारबाट लखेट्न २४ घण्टा पनि लागेन ।

ओली नेतृत्वमाथि बर्षौदेखि लाग्दै आएका भ्रष्टाचारी संरक्षण गरेको आरोप, अभियान्ता दुर्गा प्रसाईले कम्बोडियामा पैसा राखेको छ भन्ने आरोप र रास्वपाका अध्यक्ष रवि लामिछाने माथिको सुनियोजित जस्ता देखिने पक्राउ र जेल चलानले जेनजी आन्दोलनलाई मलजल गरेको थियो । राजनीतिमा काम भन्दा अर्कालाई होच्याएर, गाली गलौज गरेर राम्रो हुने विकृत मनोविज्ञान पालेका राजनीतिज्ञदेखि वाक्क भएकाहरु समेत आन्दोलनमा सरिक भए र ‘ओली सत्ता’ माथि आक्रमण भयो ।

भदौ २३/२४ को जेनजी आन्दोलनले नेपालको राजनीतिको जग कति कमजोर छ भन्ने देखाइदिएको छ । यसले कैयौ सुरक्षा चुनौति समेत थपिदिएको छ । जेनजी आन्दोलनले केपी शर्मा ओली विरुद्ध बोलेको धावाबाट सिक्न नसक्ने हो भने ओलीको राजनीतिक विरासत त सकिन्छ नै सँगै लामो इतिहास बोकेको नेकपा एमाले समेत सकिने बाटोमा अघि बढ्ने छ ।

राजनीतिमा अपराधीकरण

सरकारबाट रातारात भाग्नुपरेको पिडालाई सुुसिला कार्की नेतृत्वको चुनावी सरकारले झन पिडा दियो । सरकारबाट लिइरहेका अतिरिक्त सुविधाहरु खारेज गरेर सुरक्षा संयन्त्र फिर्ता लिए पछि सुरक्षा संरक्षक बनेर भित्रिए महेश बस्नेत । उनै महेश बस्नेतको परिकल्पनामा देशभरि सुरक्षा दस्ता निर्माण गर्ने निर्णय गरेपछि पार्टीभित्र नयाँ संयन्त्र जन्मियो ‘नेशनल युथ भोलेन्टियर फोर्स’ ।

पार्टीको सचिवालयमै अधिकांशले अतिरिक्त सुरक्षा दस्ता बनाउँदा राम्रो सन्देश नजाने भन्दाभन्दै अध्यक्षकै जोडबलमा बनेको बाहुबली जस्तो देखिने युथ भोलेन्टियर फोर्स विवादमा देखिएको छ । यस्तो लाग्छ फोर्सको सदस्य हुने योग्यता पाखुरीबाट नापिन्छ र दुईचार जना कुट्ने क्षमता अनिवार्य जस्तै छ ।

राजेन्द्र महर्जनले गुण्डाराज र भ्रष्ट अर्थराजनीतिका बारे लेख्ने क्रममा रोमन गणतन्त्रका सिनेटर लेन्टेलस ग्रेक्सको इतिवृतान्त लेख्दै भनेका छन् ‘उसले १९ वर्षको उमेरमा भोट किनबेच गर्न लाग्यो। २५ वर्ष पुग्दानपुग्दै विभिन्न संस्थाका पद खरिद गर्न थाल्यो। यसैबीच एक–दुइटा ज्यानस्यान मार्ने काम पनि गरिसकेको थियो। २८ वर्षको उमेरमा ऊ एउटा शक्तिशाली गिरोहको डन भयो र ३० को उमेरमा त एउटा क्षेत्रको निर्विरोध नेतै भयो। ४० वर्षमा त सांसदै बन्यो। सहरका १० हजार नगरबासीलाई ऊ नामबाटै र २० हजार मानिसलाई अनुहारबाट चिन्थ्यो। जजसलाई उसले कल्याण गरेको थियो, तिनको फेहरिस्तमा उसका कट्टरभन्दा कट्टर शत्रु पनि थिए। एकातिर उसले आफ्ना सहकर्मीमा कोही इमानदार पनि छन् भन्ठान्ने भूल कहिल्यै गरेन, अर्कोतिर उसले पहिल्यैदेखि बेइमान व्यक्तिलाई बेइमानै मान्दै बस्ने महाभूल पनि कहिल्यै गरेन।’

राजेन्द्र महर्जनले व्याख्या गरेको रोमन गणतन्त्रका सिनेटर लेन्टेलस ग्रेक्सको राजनीति गर्ने शैली एमालेले अपनाएको हो र ? भन्ने प्रश्न आम मानिसमा उब्जिनु नौलो कुरै भएन । पार्टी राजनीति भन्दा पनि राजनीति गर्ने सिमित नेताको सुरक्षाका लागि एमालेले बनाएको त्यही सुरक्षा फोर्सका अध्यक्ष नै थुप्रै अपराधमा दोषी देखिए पछि लेन्टेलस ग्रेक्सको झल्को नेपाली राजनीतिमा देखिएको छ ।

आम कार्यकर्ताले यसको श्रेय फोर्स भन्दा पनि त्यसका निर्माता महेश बस्नेतहरुलाई दिइरहने भए नै । यता अध्यक्ष ओलीकै निर्देशनमा महाधिवेशनको तनाव धकेलाधकेल गरेरै भएपनि आफ्नो पक्षमा पार्न युवा दस्ता जन्माइएको बुझिरहन टाढा जानै परेन पार्टी कार्यालयमा ओलीका कट्टर विरोधीका रुपमा रहेका नेता कर्ण थापा माथिको बाहुबली प्रस्तुतिले प्रमाणित गरिदियो । त्यो बाहुबली शैली महाधिवेशन सम्म नै जाने देखिएको छ ।

युथफोर्स अध्यक्ष हुँदै त्यही सोचको बिर्यबाट जन्माइएको भोलेन्टीयर फोर्स समेत महेश बस्नेतहरुले बहादुरी गर्ने थलोको रुपमा विकास हुने देखिएको छ । राजनीति कम र बहादुरी बढी देखाउने भएपछि एमालेको सुदुर भविष्य यहीरुपमा अघि बढे गतिलो देखिँदैन । युथफोर्स होस वा भोलेन्टीयर फोर्स दुबैले राजनीतिमा गुण्डागर्दी भित्र्याए भनेर इतिहास बन्यो भने एमाले र नेपालको कम्युनिष्ट इतिहास कहाँ पुग्छ ? हेर्न टाढा पुग्नु पर्दैन कि भन्ने आशंका गर्न थालेका छन् धेरैले ।

राजनीतिलाई जसरी पनि आफ्नो हातमा पार्ने हत्कण्डा प्रयोग गर्ने शैली कदापी ठीक हुँदैन । त्यसले नेपाली राजनीतिमा अपराधिकरण भित्र्याएको मात्र छैन संस्थागत गर्न नेता लागिपरेका छन् । नेपाली राजनीतिको अपराधिकरण वा अपराधको राजनीतिकरण दुबै नाङ्गिनु जरुरी छ । सीमित वर्गको लाभका लागि राजनीतिलाई अपराधिकरण गर्ने प्रयास गर्ने जो कोही नाङ्गीनु पर्छ । नत्र अर्को जेनजी आन्दोलनको आवश्यकता बोलिरहन्छ समाजको विद्रोहले ।

हिरोबाट भिलेन सम्म

भलनाथ खनालको मौन समर्थनमा माधव नेपाललाई हराउँदै पार्टी अध्यक्ष बनेका ओलीले संसदीय दलमा उनै झलनाथ खनाललाई हराएर संसदीय दलको नेता बने । संसदीय दलको नेता भएकै कारण २०७२ मा पहिलो पटक प्रधानमन्त्री बन्न सफल केपी शर्मा ओलीका अघिल्तीर भारतीय नाकाबन्दी हिरो बन्ने मौका मिल्यो ।

नाकाबन्दीलाई सहज रुपमा लिँदै चीनसँग पारवहन सन्धि गरेपछि साँच्चै केपी शर्मा ओली राष्ट्रका लागि हिरो भइदिए । चीनसँग सम्झौता गरेकै कारण भारत नाकाबन्दी हटाउन वाध्य भएपछि भारतीय राजनीतिमा तरंग ल्याइदियो । चीनबाट समेत पेट्रोल बोकेका ट्यांकर नेपाल भित्रीएपछि भारतको निर्भरता अन्त्य भएको समाचार भारतीय पक्षले समेत सम्प्रेषण गरे । सो सम्झौतालाई पुर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणका क्रममा सन्धिको प्रोटोकलमा हस्ताक्षर भएपछि आधिकारिक रुपमा पारवहन सन्धि सँधैका लागि कायम भएर आइदियो ।

तर तत्कालिन प्रधानमन्त्रीको रुपमा काम गर्दा होस वा पार्टीको नेतृत्वको रुपमा काम गर्दा होस विभिन्न काण्डहरुले ओलीलाई छोडेन । कोविडको मारमा परेको बेला ओम्नी काण्डका नाममा स्वास्थ्य सामग्री खरिदमा ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसनलसँगको सेटिङमा करोडौं अनियमितता भएको आरोप लाग्यो ।

यतिसमूहलाई सार्वजनिक जग्गा दिएको विषय, ललिता निवास प्रकरणहरुमा आफ्नालाई बचाएको र अनुचित लाभ लिएको विभिन्न सन्चार माध्यमले लेखिरहे । मल खरिद काण्डमा मात्र नभई बहुचर्चित गिरीबन्धु चियाबगान जग्गा काण्डमा समेत भुमिसुधान मन्त्री हुँदा ऐन संसोधन गरेको र महंगो उपहार लिएको आरोप लागेकी ओली निकट पद्मा अर्याललाई बचाउने खेलले एमालेलाई ठुलो धक्का लाग्यो ।
वाइडबडी काण्ड, आफ्नै नजिकका र सचिवालय समेत जोडिएको भुटानी शरणार्थी काण्ड देखि भिजिट भिषा काण्ड सम्ममा आरोप लाग्न थालेपछि ओलीको नाकाबन्दी ताकाको हिरो उपाधि घटेको मात्र थिएन सकिने अवस्थामा आइपुगेको थियो ।

अध्यक्षमा हावी भएपछि ओलीले राजनीतिक समकक्षी अझ भनौ राजनीतिमा प्रतिस्पर्धी देखिएको सबैलाई पाखा लगाएसकेका अझ उनकै नजिककाले भन्ने गरेको भाषामा ‘तह लगाइसकेका’ थिए ।
‘अब ओली विरोधी कोही छैन’ भन्ने दम्भले उनका नजिककाले उनलाई झापा विद्रोह कालका सिपी मैनाली झै बनाइदिए । झापा विद्रोहकालमा सीपी मैनालीसँग ‘भगवानकै जस्तो शक्ति छ’ का रुपमा जादुगरी नेताका रुपमा व्याख्या गर्थे त्यही जादुगरी ओलीमा देखेका झुण्डहरुले भित्र भित्रै ओली विरोधी विष्फोटक तयार हुँदै गरेको पत्तै पाएनन् र अन्त्यमा उनको हिरो हुने सपना तुहाइदियो जेनजी आन्दोलनले ।

पार्टीमा माधव नेपाल झलनाथ खनाल हुँदा ओली पार्टी भित्रकै प्रतिपक्षी थिए । माधव नेपाल प्रधानमन्त्री हुँदा होस वा झलनाथ खनाल प्रधानमन्त्री हुँदा सबभन्दा विरोधीका रुपमा उभिरहने ओली आफु प्रधानमन्त्री भएपछि पार्टी भित्रका आलोचना समेत नसहने भए ।

९ औं महाधिवेशनमा बामदेवले काँध नहालेको र झलनाथ खनाल चुपलागेर नबसिदिएको भए पार्टी अध्यक्ष हुन नसक्ने ओलीले १० औं महाधिवेशनमा गरेको एकछत्र राज नेपालको कम्युनिष्ट आन्दोलनमा लिपिबद्ध भएकै छ । अहिले ओलीलाई अध्यक्ष बनाउने दुबै न ओलीसँग छन् न एमालेमै । पार्टी भित्रका विरोधी, विचारमा अन्तरविरोध राख्नेहरुलाई पाखा लगाएर ‘राज’ गरिरहने महाराजा शैलीले एमालेको दुर्गती धेरै टाढा छैन भन्ने जेनजी विद्रोह र ओलीमाथी भएको विरोधले देखाइदिएको छ ।

देशभरि जेनजी आन्दोलन, प्रदर्शन भइरहँदा एमाले पार्टीको विरोध, पार्टी विरोधी नारा कहीँ कतै लागेन । नारा देशभरि नै ‘केपी ओली’ केन्द्रित थियो । ओली मुर्दावादको नारा देशभरि लागिरहँदा ओली निकट भएर बसेकाहरुको समेत छानी छानी सम्पत्तिमा आगजनी भएको दुःखद सम्झना मात्र हामीसँग छ ।

न हिरो न खतरा मेगामाइण्ड भिलेन नै

बाँचुन्जेल एमाले कब्जामा लिन खोजीरहेका ओली विभिन्न काण्डहरुले न हिरो हुन सके न कार्टुन फिल्म मेगामाइण्डमा देखाइए जस्तो खतरा भिलेन नै ।

उक्त मेगामाइण्ड कार्टुन फिल्ममा सँधै लडाई गर्न मनपराइ रहने भिलेनकै नामबाट फिल्मको नाम मेगामाइण्ड राखिएको छ । भिलेन मेगामाइण्ड लडाई गर्न माहिर हुन्छ । उससँग भएका अनेकौ हतियारसँग हिरोको रुपमा रहेका ‘मेट्रो मेन’ले समेत सामना गरिरहन्छन् । एकदिनको भीषण लडाईमा हिरो मेट्रो मेन पराजित भएपछि भिलेन मेगामाइण्डलाई तनाव शुरु हुन्छ । उसले लडाई जिते पनि मन हारेको पाउँछ । लडाई गरिरहन मनपराउने उसँग लड्ने कोही हुँदैन र जीवनमै नमज्जा मान्दछ । उसलाई जितेर पनि हारेको महसुस हुन थालेपछि आफै नयाँ शक्तिशाली हिरोको रुपमा ‘टिटन’लाई जन्माउँछ र लडाई जारी राख्छ ।

फिल्ममा उल्लेख भएको भिलेन मेगामाइण्डले गरेको प्रतिस्पर्धी जन्माउने आँट जति पनि गर्न सकेनन् ओलीले । भिलेन मेगामाइण्डले लडाई लड्न प्रतिस्पर्धी जन्माएझै उनले पार्टी प्रतिस्पर्धामा विद्यालाई ल्याउन सक्नु पर्थ्यो । प्रतिष्पर्धीका रुपमा आएकी विद्यालाई रोक्ने निर्णयले केपी शर्मा ओली मेगामाइन्ड जत्तिको भिलेन समेत हुन सकेका छैनन । उनको राजनीतिक विरामको डरले आफै तीन महिना अघि पास गरेको विधान पुनः संसोधन गरि अघि बढ्न खोजिरहेका छन् । भित्रीयाको व्यवस्थापन उनको सबैभन्दा ठुलो समस्या भएपछि विधान तीन महिनैमा संसोधन गर्ने वाध्यात्मक अवस्था ओली भित्र उब्जिएको डरको मनोविज्ञान हो ।

पार्टीमा सबैलाई खुल्ला प्रतिस्पर्धामा आउन, स्वच्छ आलोचना गर्न दिने प्रजातान्त्रिक परिपार्टी अपनाउनु पर्नेथियो । राजनीतिक उचाई लिएको बखत सर्वमान्य नेता बन्दै पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्ने थियो । विचौलिया, घुषखोरी र भ्रष्टाचार अन्त्यमा सामुहिक निर्णय गर्नुपर्ने थियो । तर ती सबै काम गर्न नसक्दा, कतिपय मुद्धामा स्वयं मुछिदा उब्जिएको डर र मेगामाइण्ड (फिल्मी खतरा भिलेन) जत्तिकै साहस गरेर प्रतिद्धन्द्धी भित्र्याउने काम समेत हुन नसक्दा ओलीको राजनीतिक विरासत मात्र होइन लामो इतिहास बोकेको एमालेको राजनीति जोखिममा पर्ने देखिन्छ ।