कांग्रेस उम्मेदवार सिफारिसमा हतारिँदै, फेरि केन्द्रको परिपत्र

कांग्रेस उम्मेदवार सिफारिसमा हतारिँदै, फेरि केन्द्रको परिपत्र
  • २६ मंसिर २०८२, बिहीबार १३:०८

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यालयले मातहतका निकायलाई उम्मेदवार सिफारिस गर्न पुनः गम्भीर ध्यानाकर्षण गराएको छ । आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ तथा माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न कांग्रेसले पुनः आग्रह गरेको हो ।

mulpatra

केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज सूचना जारी गर्दै यस्तो आग्रह गरेका हुन् । कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार यही असोज १५ गते कांग्रेसले पहिलो सूचना जारी गर्दै उम्मेदवार सिफारिस गर्न आग्रह गरेको थियो ।

त्यसपछि पुन मंसिर १७ गते मातहतका निकायलाई परिपत्र गर्दै कांग्रेसले त्यस्तो आग्रह गरेको थियो । केन्द्रीय कार्यालयको निर्देशनअनुसार धेरै क्षेत्रबाट उम्मेदवार सिफारिस भएका छन्। तर, कतिपय क्षेत्र र जिल्लाबाट भने अझै उम्मेदवार सिफारिस नभएपछि कांग्रेसले आज पुनः त्यस्तो आग्रह गरेको हो ।

mulpatra mulpatra mulpatra

कांग्रेसका क्षेत्रीय समितिले जिल्ला कार्यसमितिमा र जिल्ला कार्यसमितिले प्रदेश कार्यसमितिमा उम्मेदवारको नाम पठाउने प्रावधान छ। प्रदेशले पठाएका नाममा छलफल गरेर कांग्रेस केन्द्रले उम्मेदावर घोषणा गर्दै आएको छ । नेपाली कांग्रेस उम्मेदवार सिफारिसमा हतारिए पनि एमालेले भने यसप्रति अहिलेसम्म कुनै चासो देखाएको छैन। त्यसैगरि माओवादी केन्द्रले पनि अहिलेसम्म उम्मेदवारको विषयमा छलफल गरेको छैन ।

एमाले भने अहिले यही मंसिर २७ गतेदेखि हुने पर्टीको ११औँ महाधिवेशनमा केन्द्रीत भएको छ । एमाले अध्यक्ष केपी ओलीले फागनु २१ गतेको लागि घोषित निर्वाचनको विरोध गर्दै विघटित प्रतिनिधिसभा पुनर्थापना हुनुपर्ने बताउँदै आएका छन् ।