सर्वोच्चलाई जेन आन्दोलनका मुख्य दोषी भनिएका रमेश, आरजु र छविको फितलो जवाफ, तीनै जना दोषी नभएको दाबी
काठमाडौं– गत भएको जेनजी आन्दोलनमा दोषी भनिएका पूर्वगृहमन्त्री रमेश लेखक, पूर्व परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालले आज सर्वोच्चमा लिखित जवाफ दिएका छन् ।

उनीहरु तीनै जनाले जेनजी आन्दोलनमा आफुहरु दोयी नभएको जवाफमा दाबी गरेका छन् । पूर्वगृहमन्त्री रमेश लेखकले विषम परिस्थितिका कारण भदौ २३ गते जेनजी आन्दोलनमा गोली चलेको दाबी गरेका छन् । उनले प्रदर्शनकारीहरूको हताहति हुनुमा आफ्नो कुनै भूमिका नभएको जिकिर गरेका छन् ।
जेनजी आन्दोलनमा दमन गर्नेहरूलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउनुपर्ने मागसहित दायर रिट निवेदनको जवाफमा तत्कालिन गृहमन्त्री लेखक २१ जनाको हताहती हुनेगरी भएको बल प्रयोगको जिम्मा लिन अस्विकार गरेका हुन् ।
![]() |
![]() |
![]() |
|---|
‘गृहमन्त्रीमा बहाल रहँदासम्म पदिय हैसियतले जिम्मेवारी पूरा गर्दागर्दै विषम परिस्थिति सृजना भई हिंसात्मक गतिविधि सृजना हुन गएको’ लेखकले लिखित जवाफमा भनेका छन्, ‘त्यसमा मेरो कुनै भूमिका नभएकोले रिट निवेदन खारेज होस् ।’
जेनजी (युवा समूह)ले शान्तिपूर्ण हुने भनेको प्रदर्शनमा घुसपैठ भई बानेश्वरस्थित संसद् भवनमा उग्र, हिंसात्मक र विध्वंसात्मक प्रदर्शन भएको भन्दै उनले त्यसकै कारण दुःखदायी र अकल्पनीय घटना भएको जिकिर गरेका हुन् ।
२१ जनाको ज्यान जानेगरी भएको घटनाले आफूलाई अत्यन्त पीडाबोध भएको भन्दै तत्कालीन गृहमन्त्री लेखकले त्यही दिन नैतिकताको आधारमा आफूले राजीनामा दिएको दाबी गरेका छन् ।
Image Source: © https://mulpatra.com
राजीनाको दिएकाले भोलिपल्ट अर्थात् भदौ २४ गतेको घटनामा पनि आफूलाई प्रश्न गर्न नमिल्ने दाबी गरेका छन् । उनले लिखित जवाफमा भनेका छन्, ‘तत्कालीन गृहमन्त्रीबाट प्रधानमन्त्री समझ राजीनामा दिइसकेको हुँदा भाद्र २४ गतेको घटनाबारे मेलै पदीय जिम्मेवारी बोक्ने विषय नै भएन ।’
भदौ २२ गते बेलुकी आफूले केन्द्रीय सुरक्षा समितिको बैठक राखेको र त्यहाँ सुरक्षा निकायका प्रमुख एवं अरु अधिकारीहरूले समेत ‘प्रदर्शन शान्तीपूर्ण हुने विश्वास गरेको’ जिकिर गरेका छन् । त्यही बैठकमा उनले हताहती हुन नदिन, कम बल प्रयोग गर्न र शान्तिसुरक्षाको उचित व्यवस्था मिलाउन निर्देशन दिएको दाबी गरेका छन् ।
पूर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेता डा. आरजु राणा देउवाले भदौ २४ गते बूढानीलकण्ठस्थित आफ्नो घरमा आगजनी हुँदा आफ्नो घरमा नगद जलेको भनी अपवाह फैलाइएको दाबी गरेकी छन् । आफूविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै उनले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा फैलाइएको हल्ला गलत भएको दाबी गरेकी हुन् ।
उनले लिखित जवाफमा भनेकी छन्, ‘म तथा मेरो पति नेपाली कांग्रेसको सभापति, पूर्व प्रधानमन्त्रीको निवासमा रकम जलेको विभिन्न टेलिभिजन र सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको भन्ने व्यहोरा उल्लेख गरी दोषारोपण गरिएको छ सो जिकिर समेत गलत छ ।’
राष्ट्रिय सुरक्षा परिषद्को सदस्य समेत रहेकी आरजु राणा देउवा लगायतले बेलैमा बैठक डाकेर सेना परिचालन नगर्दा जनधनको क्षति भएकाले उनीहरूलाई कारबाही गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको थियो ।
यस्तै काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालले ‘उच्च पदस्थ पदाधिकारीहरू’को समन्वयमा भदौ २३ गते जेनजी आन्दोलनमा आफूहरुले बल प्रयोगको निर्देशन दिएको बताएका छन् ।
सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै तत्कालिन प्रमुख जिल्ला अधिकारी रिजालले भवनको पर्खाल तोडफोड तथा आगजनी गरी अनियन्त्रित हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन कफ्र्यू लगाउने र अरु बल प्रयोग गर्नुपरेको जिकिर गरेका हुन् ।
सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफमा उनले भनेका छन्, ‘पर्खाल तोडफोड तथा आगजनी गरेपछि स्थिति नियन्त्रण गर्न उच्च पदस्थ पदाधिकारीहरूसँग समेत समन्वय गरी जिल्ला सुरक्षा समितिको सिफारिसमा संसदभवन आसपासमा कफ्र्यूको आदेश जारी गरिएको थियो ।’ उनले ती उच्चपदस्थ पदाधिकारी को हुन् भन्ने जवाफमा खुलाएका छैनन् ।
कफ्र्यूपछि प्रदर्शनकारीहरु तितरबितर हुने अपेक्षा भएकोमा स्थिती झनै उत्तेजित बनेको भन्दै उनले जवाफमा भनेका छन्, ‘एकातिर संसद भवन तोडफोड र आगजनीबाट जोगाउन र अर्कोतिर प्रदर्शनका युवाहरुको जीउ ज्यानको सुरक्षा गर्नु दुवै जिम्मेवारी थियो ।’



