Close

Recent Posts

भाग्यो नि. भगाइयो नि.भन्या छन्, जेनजी आन्दोलनमा काँतर भएर होइन, बुद्धि लगाएर भागेको ओली भनाइ

भाग्यो नि. भगाइयो नि.भन्या छन्, जेनजी आन्दोलनमा काँतर भएर होइन, बुद्धि लगाएर भागेको ओली भनाइ
  • २६ मंसिर २०८२, बिहीबार १४:५४

काठमाडौं– एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि बालुवाटारबाट भागेको आरोप अस्वीकार गरेका छन् । आफू भागेको नभई मुकाम परिवर्तन मात्रै गरेको उनको भनाइ छ ।

mulpatra

आज सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले यस सम्बन्धमा लामो स्पष्टीकरण दिए । सुरुमा उनले पाण्डवहरूको उदाहरण दिएर भाग्नु पनि कहिलेकाहीँ बुद्धिमत्तापूर्ण हुने तर्क गरे । पछि फेरि आफू कतै नभागेको जिकिर गरे ।

ओलीको भनाइ उनकै शब्दमाः

mulpatra mulpatra mulpatra

‘भाग्यो नि… भगाइयो नि… भन्या छन् । म कहिले सिंहदरबार, कहिले बालुवाटारमा हुन्थेँ । बाहिर जाँदा मुकाम अन्त पनि हुन्थ्यो । कौरवहरूले दुर्योधन, सकुनी र दुसासनहरुले लाक्षागृह बनाएर भित्रै जलाएर मार्न खोजेका थिए । दुर्योधनका प्रेतहरू अहिले पनि रहेछन् । पाण्डवहरू भागेर बाँचे । एकातिरबाट आगो लगाए, पाण्डवहरू अर्कातिरबाट भागे । भागेकै हुन् पाण्डवहरू । काँतर भएर होइन, बुद्धि पु¥याएर भागे । ‘म जल्छु तर भाग्दिन’ भनेको भए जल्थे । जल्नु हुँदैनथ्यो । त्यस्ता परिस्थिति पनि आउँदा रहेछन् ।
मेरो अगाडि एउटा परिस्थिति आयो । मैले राजीनामा गरेँ । तर म केयरटेकर प्रधानमन्त्री छँदै थिएँ । भागेर केयरटेकर हुन्छ ? भागेको मान्छे प्रधानमन्त्री रहन्छ ? म त प्रधानमन्त्री नै थिएँ । राष्ट्रपति भन्दै हुनुहुन्छ कि उहाँलाई कदम चाल्न प्रधानमन्त्रीले २६ गते राति सिफारिस गरेको हो भनेर । मैले राष्ट्रपतिलाई प्रधानमन्त्रीको हैसियतमा सिफारिस गर्दै छु भने म कहाँ भागेँ ? राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिबीच मेरो कुराकानी भयो म बसेको ठाउँमा । त्यो भाग्या भयो ?

हो, मैले (बालुवाटार) नछोड्न सक्थेँ । तर के–के खुवाएर ल्याएको छ, आक्रमण गर्न आउँछन् । आत्मरक्षाका लागि प्रहार गर्दा क्याजल्टी हुने भो । क्याजल्टी हुनुभन्दा वल्लो घरबाट पल्लो घर सर्दा राम्रो होइन ? कहिलेकाहीँ बच्चाबच्चीहरुले खेदे भने आफू कुद्नुपर्छ । अनि डरायो, भाग्यो… भनेर खुशी हुन्छन् । त्यस्तै हो । म प्रधानमन्त्री चलाइरहेको छु, भागेँ कसरी ? उनीहरूको ज्यान बचाउनका लागि मैले मुकाम परिवर्तन गरेको हुँ ।

भाग्या मान्छे यस्तै हुन्छ ? कुन देश गएको थ्यो भागेर ? भारत, चीन, अमेरिका, रुस कहाँ गएको थियो ? मैले ‘क्याजल्टी’ नहोस् भन्ने हिसाबले आफू बसेको मुकाम परिवर्तन गरेँ । किन त्यहाँ फर्केर गइनँ वा अर्को ठाउँ आइन भन्दा घर डढाइदिएको छ, बस्ने ठाउँ नखोजी आउन भएन । डेरा खोजेर पाएपछि आएँ । डेरा नभएसम्म यहाँ छु भनेर डाँडाडाँडा निस्किएर माइक लगाएर कराउने कुरा भएन । डेरामा आएपछि म गुण्डुमा आएँ भनेकै हो ।

Image Source: © https://mulpatra.com

म २ गते गुण्डुमा आएँ । गुण्डुमा फुत्त निस्केँ । यतै कतै आसपास थिएँ रे त फुत्त निस्किएँ । एयरपोर्टको टिकट हेर्दा भो । नाकाहरू चेक गर्दा भयो कहाँबाट आयो । आफ्नो घर नहुँदा अर्काको घरमा बास मागेर बसेको ठाउँमा धाक लगाएर अप्ठेरोमा पारिदिनु भएन नि । त्यति मात्र कुरा हो ।

नभाग्या भएर के गर्थे त सुशीलाजीहरुले ? म नभागेको भए के गर्नुहुन्थ्यो उहाँहरूले ? हो, हामीले एउटा कमीकमजोरी गरेका थियौँ । भन्न त केपी ओलीले कमजोरी स्वीकार्दैन भन्छन्, तर म स्वीकार्छु । हामी राज्य संयन्त्रको सुरक्षामा सम्पूर्णरुपमा भर पर्यौं । यही कमजोरी भयो । जनताले आफ्नो सुरक्षा आफैँले पनि गर्नुपर्ने रहेछ । हाम्रो घर जलाइँदा राज्य कहाँ थियो थाहा भएन । यो बदलिएको परिस्थितिमा अब यहाँहरूका घर पनि जलाइन आँटे भने तुरुन्त सूचना पाउँ, हामी सुरक्षा गर्छौँ । एमालेले सुरक्षा गर्छ । ढुक्क भएर कलम चलाए हुन्छ । कसैले फोन सोन गर्दैमा डराउनु पर्दैन ।