सरकारसँगको सम्झौतामा असन्तुष्ट जेनजी भन्छन् प्रधानमन्त्रीले यसको मुल्य चुकाउनुपर्छ
काठमाडौ–ं जेनजी र सरकारबीच वार्ता र विचार आदान प्रदान गर्ने उदेश्यले बोलाइएको बैठकमा जबरजस्त मस्यौदा प्रस्तुत गरिएको भन्दै असन्तुष्ट जेनजी समूहले आरोप लगाएका छन् ।

सम्झौता भइरहँदा प्रधानमन्त्री सुशीला कार्कीले जेनजीका मागहरु चुनावपछाडि सम्बोधन हुने भनेपछि असन्तुष्ट समूह भड्किएको थियो । रिपोट्र्स क्लबमा बोल्दै एक जेनजी अगुवाले भने– ‘जेनजीका माग भन्दा अगाडि पूरा हुन्छन् कि पछाडि ? भन्ने प्रश्नमा प्रधानमन्त्री कार्कीले चुनावभन्दा पछाडि भनेपछि मैले सोधें, त्यसो भए चुनावका लागि मेरा दाइहरुले, भाइहरुले के रगत बगाएका थिए ? के गोली खाएका थिए ? के यो ड्राफ्टका लागि गोली खाएका थिए ? तर प्रधानमन्त्रीले कुनै पनि जवाफ दिनु भएन ।’
प्रधानमन्त्री नाजवाफ हुनु भनेको यो आन्दोलनलाई लत्याउने, यो आन्दोलनलाई कमजोर बनाउने, चुनावका नाममा, मस्यौदाका नाममा यो जेनजी आन्दोलनको रापतापलाई, परिवर्तनका मुद्दाहरुलाई छेक्ने काम भइरहेको निष्कर्षमा पुगेको जेनजी अगुवाले बताए । ‘उहाँ (प्रधानमन्त्री) ले जेनजी आन्दोलन लत्याउने प्रयत्न गर्नु भयो । यो हामी मान्दैनौं भनेर हामीले त्यसलाई बहिष्कार गरेर त्यसलाई च्यातेर प्रधानमन्त्री सुशीला कार्कीको कार्यकक्ष छोडेका हौं ।’
![]() |
![]() |
![]() |
|---|
प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा जेनजी र सरकारबीच वार्ता र विचार आदानप्रदान गर्ने उदेश्यले केही घाइते र केही समूहभित्रका निश्चित जेनजीलाई बोलाइएको उनले बताए ।
‘सरकारसँग पहिलो चरणको केही छलफल र वार्ता गरौं भनियो तर एकाएक कहाँबाट ड्राफ्ट बनेको रहेछ मस्यौदा बनेको रहेछ त्यो मस्यौदालाई ल्याएर त्यहाँ बोलाइएका मान्छेलाई जबरजस्त ताली पिटाएर प्रस्तुत गरियो,’ उनले भने, ‘हामीले त्यहाँ भन्यौं यो मस्यौदा कसरी बन्यो ? जेनजी आन्दोलनका योद्धाहरु बाहिर छन् । घाइतेहरु बाहिर छन् । शहीदहरु बाहिर छन् । सम्पूर्ण जेनजीका आन्दोलनका मुद्दाहरु बाहिर छन् ।’
जेनजी अगुवाले पत्रकार सम्मेलनमा भने, ‘जेनजीका कुनै पनि मुद्दाहरु समेटिएको छैन । मस्यौदा कहाँबाट आयो भनेर हामीले सोध्यौं । तर त्यो ठाउँमा हामीलाई बोल्न दिइएन । केही समूहका मान्छेहरु आएर हामीलाई रोक्ने प्रयास गरे । तपाईंहरु बाहिर जानुस् भन्ने प्रयास गरे ।’
Image Source: © https://mulpatra.com



