ओलीलाई विधान संसोधनबाट पछि हटाउन सफल भए ईश्वर, ईश्वरको दस्तावेज समूहमा वितरण गर्ने
काठमाडौं । नेकपा एमालेको महाधिवेशन शुरु हुँदै गर्दा चर्चामा रहेको विधान संसोधन स्थगित भएको छ । तीन महिना अघि विधान महाधिवेशनले पारित गरेको विधान संसोधन चर्चामा रहेपछि बहुमत सचिवालय सदस्य विधान संसोधनको विपक्षमा रहेपछि अध्यक्ष केपी शर्मा ओली विधान संसोधनको प्रस्तावबाट पछि हटेका छन् । ईश्वरको पुरक दस्तावेज दर्ताबाट तर्किन खोजेका ओली अन्ततः आफ्नै विधान संसोधन प्रस्तावमा समेत पछि हटेका छन् ।

विधान महाधिवेशनले ७० बर्षे उमेर हद र दुई कार्याकालको व्यवस्था हटाएपछि पुन अध्यक्ष हुने दाउमा रहेका ओलीका विरुद्ध ईश्वर पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । उनले मंसिर २२ गते केन्द्रीय कार्यालय च्यासलमा छुट्टै दस्तावेज दर्ता गराएका थिए।
ओलीले आफ्ना नेताहरुको व्यवस्थापनमा सकस भएपछि पुन तीन महिनामै विधान संसोधनको तयारी गरेपछि पोखरेलले छुट्टै दस्तावेज दर्ता गराएर त्यसको छलफल गर्नुपर्ने माग गरेका थिए । हाललाई पोखरेलको दस्तावेज समेत छलफल नहुने तर पोखरेलको दस्तावेज समूहमा वितरण गरिने सहमति भएको एक सचिवालय सदस्यले जानकारी दिएका छन् ।
शुक्रबार झन्डै ५ घन्टा चलेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी संख्या बढाउने प्रस्ताव गरेका थिए। तर सचिवालय बैठकमा त्यसमा सहमति जुट्न नसकेपछि विधान यथावत रहने भएको छ ।
![]() |
![]() |
![]() |
|---|
भदौमा भएको विधान महाधिवेशनले पदाधिकारीको संख्या १९ बाट घटाएर १५ मा सीमित गरेको थियो, स्थायी कमिटि नराख्ने र केन्द्रिय सदस्य २५१ कायम गरिएको थियो । अध्यक्ष ओली समूहमा पदाधिकारीको आकांक्षी बढेर आफ्नो अनुकुल नहुने भएपछि ओलीले पुनः विधान संसोधन गर्दै केद्रिय सदस्य ३१५ र पदाधिकारी १९ बनाउने र स्थायी कमिटि समेत राख्ने तयारीमा थिए । तर ईश्वर पोखरेलको पुरक दस्तावेजले उनको त्यो प्रयासमा विराम लगाइदिएको छ । अधिकांश पदाधिकारीले तीन महिनामै विधान संसोधन गर्दा गलत म्यासेज जाने भन्दै यथावत राख्न धारणा राखेका थिए ।
महाधिवेशनका लागि देशभरबाट २१५४ जना निर्वाचित भएर आएका छन् भने ५ प्रतिशत मनोनित गर्न बाँकी रहेको छ । सो पाँच प्रतिशत मनोनितमा समेत ओली र ईश्वर पोखरेल बसेर टुंगो लगाउने निर्णय भएको एक पदाधिकारीले बताएका छन् । पाँच प्रतिशत मनोनित हुँदा १०८ जना आउने र जम्मा महाधिवेशन प्रतिनिधि संख्या २२६२ जना पुग्ने छ।



