वैदेशिक रोजगारीमा उडेपछि ९२ प्रतिशत कामदारले सासु कोषनै बिर्सिन्छन्मासिक ४ अर्ब नोक्सान
काठमाडौं– वैदेशिक रोजगारीमा विभिन्न देश गएका ९२ प्रतिशत कामदारले सामाजिक सुरक्षा कोषमा पैसा जम्मा नगरेको पाइएको छ । सरकारले वैदेशिक रोजगारीमा रहेका श्रमिकको हितका लागि सञ्चालनमा ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा विदेशमा रहेका युवाले बाध्यता र औपचारिकताका लागि मात्र रकम जम्मा गर्नेे गरेको देखिएको छ ।

वैदेशिक रोजगारीमा जानुअघि सामाजिक सुरक्षा योजनामा सूचीकृत भएका ९२ प्रतिशत कामदारले रोजगारदाता देश पुगेपछि योगदान रकम नियमित जम्मा नगर्ने गरेको कोषकै अधिकारीहरु बताउँछन् । सामाजिक सुरक्षा कोषले सुचीकृत भएर वैदेशिक रोजगारीमा गएका मध्ये ८ प्रतिशत युवाले मात्र योजनामा नियमित योगदान रकम जम्मा गर्ने गरेका छन् ।
हाल वैदेशिक रोजगारीमा गएका २० लाख ८ हजार मध्ये ९२ प्रतिशतले योगदान रकम नियमित गर्ने गरेका छैनन् । वैदेशिक रोजगारीमा कार्यरत ९२ प्रतिशतले विदेश पुगेपछि कोषमा रकम तिर्ने वेवास्ता गदै आएका छन् ।
कोषले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको भए पनि सबैलाई नियमित गराउन सकेको छैन । श्रम स्वीकृति लिन मात्र कोषमा रकम जम्मा गर्नु पर्ने बुझाइका कारण रकम नियमित हुन सकेको देखिदैन् ।
वैदेशिक रोजगारीमा गएका ९२ प्रतिशत कामदारले रोजगारदाता देश पुगेपछि योगदान रकम नियमित जम्मा नगर्दा मासिक ४ अर्ब पैसा कोषमा जम्मा नहुने गरेको हो ।
वैदेशिक रोजगारीमा जाने युवाले श्रम स्वीकृति लिदा सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुनु पर्ने भए पनि अधिकांश युवालाई आफू योजनामा सूचीकृत भएको समेत जानकारी नै नभएको पाइएको हो । रोजगारीका लागि विदेश जाने अधिकांश युवाले विदेश पुगेपछि सामाजिक सुरक्षाको योगदान रकम नियमित नगर्दा सूचीकरण हुनेको संख्या औपचारिक श्रमिकभन्दा दोब्बर बढी भए पनि रकम संकलन भने न्यून रहेको छ ।
औपचारिक क्षेत्रका ६ लाख ५२ हजार श्रमिक योजनामा आबद्ध हुँदा साढे ९१ अर्ब ६५ लाख रुपैयाँ योगदान रकम जम्मा हुँदा वैदेशिक रोजगारीमा रहेका श्रमिक २० लाख ८ हजार सूचीकृत हुँदा ४ अर्ब ९६ करोड मात्र जम्मा भएको पाइएको छ ।
यो रकम वैदेशिक रोजगारीमा रहेका २० लाख ८ हजार श्रमिकले मासिक २ हजार ३ सय रुपैयाँका दरले जम्मा गर्दा हुन आउने अनुमानित योगदान रकम हो । यद्यपि विदेशमा नै रोजगारीमा रहेका बेला आबद्ध हुने श्रमिकले भने नियमित योगदान रकम संकलन गरिरहेको कोषले जनाएको छ ।
सामाजिक सुरक्षा योजनाको फाइदाभन्दा पनि श्रम स्वीकृति पाउन बाध्य भएर रकम जम्मा गर्ने गरेको देखिएको छ ।
वैदेशिक रोजगारीमा सूचीकरण भएका सबै श्रमिकले नियमित योगदान रकम जम्मा गर्ने हो भने मासिक ४ अर्बको हाराहारीमा योगदान रकम संकलन हुने देखिएको कोषकै एक उच्च अधिकारीले जानकारी दिए ।
हालसम्म वैदेशिक रोजगारी धेरै गएका केही स्थानीय तहमार्फत परिवारलाई योजनाको महत्त्वका सम्बन्धमा जनचेतना कार्यक्रम सञ्चालन गरिसकेको जनाएको छ ।
श्रम स्वीकृति लिदा बीमा, कल्याणकारी रकम जस्तै सामाजिक सुरक्षामा पनि रकम जम्मा गर्नु पर्छ भन्ने थाहा नहुँदा रकम नियमित नभएको हुन सक्ने कोषको अनुमान छ । कतिपय युवाले श्रम स्वीकृति सेवा आफू स्वयमले नलिने र विचौलियामार्फत गर्ने गरेका कारण पनि आफू सामाजिक सुरक्षा योजनामा आबद्ध भएको थाहा नहुने गरेको पाइएको छ ।
योजनामा समावेश हुने श्रमिकले मासिक २ हजार ३ सय रुपैयाँ बुझाउनु पर्नेछ । योगदान रकम एकमुष्ट बुझाए जम्मा गरेको रकममा १० प्रतिशत छुट पाइने कोषले जनाएको छ । यो रकम खल्ती, ईसेवा र कनेक्ट आईपीएसमार्फत नै जम्मा गर्ने व्यवस्था मिलाइएको छ । ।
