नोबेल पुरस्कार विजेताको प्रमुख आतिथ्यमा त्रिविको ५१ औं दीक्षान्त समारोह
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह दशरथ रंगशालामा आयोजना गरेको छ ।
सँधै प्रधानमन्त्री प्रमुख अतिथि रहने विश्वविद्यालयको इतिहासमा पहिलोपटक नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता लाई प्रमुख अतिथि बनाएर कार्यक्रम गर्न लागेको हो ।

टोकियो विश्वविद्यालयका प्राध्यापक ताकाआकी काजिताले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गरेका थिए । विश्वविद्यालयको प्रधानमन्त्री कुलपति हुने व्यवस्था र उनै प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा दीक्षान्त समारोह गर्ने गरेको भएपछि यसपालि काजिताको उपस्थितिले विश्वविद्यालयको प्रथालाई तोडेको छ । प्रधानमन्त्री शुसिला कार्कीले प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्था खारेजी गर्ने तयारी गरेको बेला काजिता प्रमुख अतिथि बन्न पुगेका छन् ।
आज दीक्षान्त समारोहमा ४० हजार भन्दा बढी उपस्थिति रहने त्रिविले जनाएको छ । गत शैक्षिक सत्रमा विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विद्यावारिधि तहमा उत्तिर्ण ८९ हजार १९१ विद्यार्थी मध्ये १६ हजार ३८० जना विद्यार्थी आजको दीक्षान्त समारोहमा सहभागी हुने भएका छन् ।
![]() |
![]() |
![]() |
|---|
दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीहरु मध्ये व्यवस्थापन संकायबाट ७ हजार ८४९ जना, मानविकी तथा समाजशास्त्र संकायबाट ३ हजार ८३ जना, कानुन संकायबाट १६९ र शिक्षाशास्त्र संकायबाट १५ सय ३५ जना, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबाट १०२ जना, वन विज्ञानबाट १०२ जना, इन्जिनियरिङ अध्ययनबाट ३६५ जना , चिकित्साशास्त्रबाट १५ सय ४६ जना, विज्ञान तथा प्रविधि अध्ययनबाट १६ सय २८ जना विद्यार्थी सहभागी हुने भएका छन् ।



