कांग्रेसको अनुशासन कारबाही फुकुवा, पार्टीमा फर्किन सबैलाई आव्हान
काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र देखिएको असहयोग र आन्तरिक विभाजन अन्त्य गर्दै संगठनलाई थप सुदृढ बनाउने उद्देश्यका साथ अनुशासनसम्बन्धी कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीलाई एकताबद्ध बनाउने रणनीतिअन्तर्गत यस्तो कदम चालिएको कांग्रेसले जनाएको छ ।

शनिबार सानेपास्थित केन्द्रीय कार्यालयमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विगतका निर्वाचनमा पार्टी हितविपरीत गतिविधिमा संलग्न भई कारबाहीमा परेका नेता–कार्यकर्ताको अनुशासन कारबाही हटाउने र क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो ।
पार्टीले वर्तमान राजनीतिक परिस्थिति, प्रतिनिधिसभा र राष्ट्रियसभाको आसन्न निर्वाचनलाई ध्यानमा राख्दै संगठनात्मक एकता अपरिहार्य रहेको निष्कर्ष निकालेको छ । यस क्रममा पार्टीको विधानविपरीत उम्मेदवारी दिएका, प्रस्तावक वा समर्थक बनेका तथा अन्य अनुशासन उल्लंघनका कारण निष्कासन वा निलम्बनमा परेकाहरूको बाँकी कारबाही अवधि माफी गरिने भएको छ ।
यसैगरी, विगतमा विभिन्न कारणले कांग्रेस परित्याग गरी स्वतन्त्र वा अन्य दलमा संलग्न भएकाहरूलाई पनि पार्टीमा पुनः फर्कन खुला आव्हान गरिएको छ । पार्टीमा फर्कनेलाई क्रियाशील सदस्यता प्रदान गर्दै आवश्यक जिम्मेवारीसमेत दिइने कांग्रेसले स्पष्ट पारेको छ ।
कांग्रेस नेतृत्वले आगामी दिनमा पार्टी हितविपरीतका गतिविधि नगर्न सचेत गराउँदै एकता, समावेशिता र लोकतान्त्रिक मूल्यको संरक्षणमा सबै नेता–कार्यकर्तालाई सक्रिय भूमिका खेल्न आग्रह गरेको छ ।
