उद्योग बाणिज्य महासंघको चुनावी सरगर्मी दुई प्यानल खडा हुँदै
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचन नजिकिएसँगै चुनावी सरगर्मी बढ्न थालेको छ । निजी क्षेत्रको छाता संगठनको रुपमा रहेको महासंघको विधान अनुसार यसपटक वरिष्ठ उपाध्यक्ष स्वतःअध्यक्ष हुने भएकाले हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ अध्यक्ष बन्दैछन् । आगामी चैत्र २८ गते हुने साधारण सभाले नयाँ नेतृत्व चयन गर्नेछ ।

उनै श्रेष्ठ र हालका अध्यक्ष ढकाल बीच नोकझोक भएको छ । भरखरै भियतनाममा सम्पन्न महासंघको कार्यसमिति बैठकले महासंघको नियमावली पास गर्ने बेलामा अध्यक्ष ढकाल र वरिष्ठ उपाध्यक्ष श्रेष्ठ बीच घोचपेच भएको हो । नियमावलीमा असहमती जनाउँदै श्रेष्ठले विमती राखेपछि बहुमतले नियमावली पास गरेको छ । यता श्रेष्ठले नोटअफ डिसेन्ट लेख्ने बताएका छन् ।
सोही कारण पनि चुनाव नजिकिँदै गर्दा महासंघमा दुई प्यानल देखिएको छ । हालका अध्यक्ष चन्द्रप्रसाद ढकाल र वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अलग अलग प्यानलको नेतृत्व गर्ने पक्कापक्की जस्तै भएको छ । पुर्व अध्यक्ष भवानी राणा भने तटस्थ देखिएकी छिन् ।
भावी अध्यक्षका रुपमा रहेका श्रेष्ठको टिममा वरिष्ठ उपाध्यक्ष हुने गरि श्रीकृष्ण वैद्य , जिल्ला नगरबाट हुने दुई जना उपाध्यक्ष मध्ये दिलसुन्दर श्रेष्ठ र कृष्णप्रसाद शर्मा रहने र वस्तुगतबाट शिवप्रसाद घिमिरे रहने भएका छन् । त्यसैगरि कोषाध्यक्ष मनिषलाल प्रधान रहने छन् । त्यसैगरि सातै प्रदेशमा अध्यक्ष बनाउने गरि जिल्ला नगर हेरेकाले श्रीकृष्ण बैद्य लागेका छन् । एसोसिएट्समा प्रवल जंग पाण्डे रहने गरि तयारी गरिएको छ ।
त्यसैगरि चन्द्रप्रसाद ढकालको टिमबाट वरिष्ठ उपाध्यक्ष हुने गरि हेमराज ढकाललाई अघि सारेका छन् । जिल्ला नगरबाट उपाध्यक्षमा नरेन्द्र कुमार खड्का, उमेश डालमिया, डिबी बस्नेत र पदम शाहि मध्ये दुई जना हुनेछन् । वस्तुगतबाट भने नरेशलाल श्रेष्ठको नाम अगाडी आएको छ । यस्तै एसोसिएट्समा भने अजित बस्नेत रहने सम्भावना बढी रहेको छ ।
हाल विगतमा भएको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था भने परिवर्तन गरेको छ । परिवर्तिन विधान अनुसार अर्को कार्याकालदेखि महासंघको अध्यक्ष प्रत्यक्ष रूपमा निर्वाचित हुने व्यवस्था गरिएको छ ।
नयाँ संशोधन अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ अध्यक्ष भएर कार्यकाल सकिएपछि हुने वार्षिक साधारण सभाले प्रत्यक्ष निर्वाचनबाट अध्यक्षको चयन गर्नेछ । र त्यसरी चयन हुने अध्यक्षको कार्याकाल २ बर्षको हुनेछ ।
महासंघ कार्यकारिणी समितिमा पाँच जना उपाध्यक्ष हुनेछन । यसैगरि एक जना वरिष्ठ उपाध्यक्ष कार्यकारिणी समितिले चयन गर्नेछ ।
