जेन–जी आन्दोलनमा भएको क्षतिको ५ अर्ब ४८ करोड बीमा भुक्तानी
काठमाडौं– जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेको दाबीको ५ अर्ब ४८ करोड भन्दा बढी भुक्तानी गरेका छन् ।

नेपाल बीमा प्राधिकरणका प्रवक्ता सुशील देव सुवेदीका अनुसार आन्दोलनको क्रममा भएको क्षतिमा २३ अर्ब ४७ करोड रुपैयाँ बराबरको ३ हजार ३१६ वटा बीमा दाबी परेको थियो । जसमा ५ अर्ब ४८ करोड २५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको सुवेदीले जनाकारी दिए ।
प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी उक्त भुक्तानी भएको सुवेदीले जानकारी दिए ।
कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ कूल ७१२ वटा बीमा दाबीको दाबी रकम करिब १९ अर्ब ५ करोड रुपैयाँमध्ये करिब ३ अर्ब ९३ करोड ५९ लाख रुपैयाँ र मोटर बीमातर्फ कूल २ हजार ३२१ वटा बीमा दाबीको दाबी रकम करिब ३ अर्ब ४६ करोड १६ लाख रुपैयाँमध्ये करिब १ अर्ब ३९ करोड २५ लाख रुपैयाँ भुक्तानी भएको छ ।
यसै गरी, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ कूल २२६ वटा बीमा दाबीको करिब ५५ करोड ३९ लाख रुपैयाँको दाबी रकममध्ये करिब ८ करोड ३६ लाख रुपैयाँ, परिवहन बीमातर्फ कूल १२ वटा बीमा दाबीको करिब १ करोड ६९ लाख रुपैयाँको दाबी रकममध्ये करिब १ करोड ५५ लाख रुपैयाँ र अन्य बीमातर्फ कूल ४५ वटा बीमा दाबीको करिब ३८ करोड ४० लाख रुपैयाँ दाबी रकममध्ये करिब ५ करोड अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।
जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई कूल करिब ३ अर्ब २ करोड रुपैयाँ अग्रिम भुक्तानी सहित पुनर्बीमा दाबी भुक्तानी गरेको सुवेदीले जनाकारी दिए ।
नेपाल पुनर्बीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीहरूबाट परेका कूल २ हजार ८६३ वटा पुनर्बीमा दाबीको कूल पुनर्बीमा दाबी रकम करिब १६ अर्ब ६२ करोड ६६ लाख रुपैयाँ रहेको अद्यावधिक तथ्याङ्क कम्पनीबाट प्राप्त भएको कार्यकारी निर्देशक सुवेदीले जानकारी दिए
