Close

Recent Posts

साउदीसँग श्रम सम्झौताको अन्तिम तयार, खान–बस्नसँगै मासिक १५ सय रियाल तलब प्रस्ताव

घरेलु रोजगारीका हकमा मध्येमार्गी बाटोको प्रस्ताव

साउदीसँग श्रम सम्झौताको अन्तिम तयार, खान–बस्नसँगै मासिक १५ सय रियाल तलब प्रस्तावघरेलु रोजगारीका हकमा मध्येमार्गी बाटोको प्रस्ताव
  • १८ पुष २०८२, शुक्रबार १३:१३

काठमाडौं– नेपाली कामदारको प्रमुखमध्येको गन्तव्य देश साउदीसँग श्रम सम्झौताको प्रक्रिया अघि बढेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार साउदीसँग एक महिनाभित्र श्रम सम्झौता हुनेगरी आवश्यक मस्यौदा साउदी सरकारलाई पठाइसकेको छ ।

mulpatra

गत वर्ष श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउदीका समकक्षी अहमद विन सलेमन विन अब्दुल्लाहजिज अल राजीबीच साउदीको रियादमा भएको द्विपक्षीय बैठकमा श्रम सम्झौताका विषयमा सहमति भएको हो । सोहीअनुसार साउदी सरकारसँग श्रम सम्झौता हुन लागेको श्रम मन्त्रालयले जनाएको छ ।

एक दशकभन्दा लामो समयदेखिको प्रयासपछि साउदीसँग श्रम समझदारीपत्रमा हस्ताक्षर गर्न लागिएको हो । गत महिना बसेको मन्त्रिपरिषद् बैठकले समझदारी पत्रमा हस्ताक्षर गर्न स्वीकृति प्रदान गरेको थियो ।

अब छिट्टै दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारी साउदी जाने तयारी समेत भइरहेको छ । श्रम मन्त्री साउदी जाने अहिलेसम्म निश्चित नभएपनि श्रम सम्झौताका लागि जाने तयारी भइरहेको श्रम मन्त्रालयले स्रोतले जनाएको छ ।

नेपाल सरकारले शून्य लागतमा (श्रमिक भर्ना प्रक्रियाको शुल्क रोजगारदाताले बेहोर्ने गरी) श्रमिक लैजाने सम्झौताका लागि मस्यौदा पठाएको र साउदी जाने कामदारको न्यूनतम पारिश्रमिक १ हजार ५ सय रियाल हुने गरी मस्यौदा पठाएको श्रम मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । उनका अनुसार साउदी जाने कामदारका हकमा खान–बस्न समेत निशुल्क हुनुपर्ने मस्यौदामा प्रस्ताव गरिएको छ ।

पछिल्लो समय श्रमिकको हकहितमा काम गरिरहेका अन्तर्राष्ट्रिय संगठनहरूले श्रमिक भर्ना प्रक्रियामा स्वच्छताको सुनिश्चितता हुनुपर्ने अडान नेपालको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले न्यायोचित भर्ना प्रक्रिया हुनुपर्ने विषय मस्यौदामा उठाइरहेको छ ।

विगतमा कफाला प्रणालीको प्रयोग गर्दै आएको साउदी अरेबियामा विदेशी श्रमिकलाई हेर्ने नीतिमा परिवर्तन ल्याएको छ । साउदीले २०२१ मार्चमा कफाला प्रणालीमा सुधार गरिसकेको छ भने श्रम ऐनमा परिवर्तन गरी न्यूनतम तलब तथा सेवा सुविधामा समेत सुधार गरेको छ । भने साउदी सरकारले विदेशी कामदारका हकमा खान–बस्नसहित मासिक १ हजार ६ सय रियाल तलब घोषणा गर्ने भएको छ ।

२०७६ सालको अन्तिमतिर साउदीले घरेलु श्रमिक आपूर्तिबारे छुट्टै श्रम समझदारी गर्न प्रस्ताव पठाएको थियो । नेपालले भने घरेलु श्रमिकका लागि मात्र नभई सबै प्रकारका श्रमिकलाई समेट्ने अडान राख्दै आएको छ । यस पटक नेपालले घरेलु कामदार पठाउन तयार भए मात्र श्रम सम्झौताका लागि साउदी तयार हुने श्रम मन्त्रालयकै कर्मचारीहरु बताउँछन् ।

साउदीले घरेलु महिला कामदारसँगै २९ क्षेत्रमा नेपाली कामदार लैजाने प्रस्ताव गरेको छ । कृषि श्रमिक, ड्राइभर, सुरक्षागार्ड (नाथुर), कुक, घरेलु कामदार, उद्योगमा मजदुर, ग्रिल उद्योग र सूचना प्रविधिमा नेपाली कामदार लैजान प्रस्ताव गरेको छ ।

सन् २०३४ मा हुने फिफा विश्वकप फुटबललाई ध्यानमा राख्दै साउदी अरेबियामा ठूलो मात्रामा श्रमिक आवश्यक पर्ने अनुमान गरिएको छ । यसलाई नेपालले सम्भावना भएको अवसरका रूपमा लिएको छ । भविष्यमा डोमेस्टिक वर्कर, स्किल्ड म्यानपावर, स्किल भेरिफिकेसन लगायतका विषयहरू विस्तार गर्न सकिनेछ । समझदारीपछि प्राविधिक समिति (ज्वाइन्ट टेक्निकल कमिटी) बनेर श्रमिकसम्बन्धी विषयहरू औपचारिक रूपमा उठ्ने मन्त्रालयको बुझाइ छ ।

साउदीसहित अन्य खाडी मुलुकको दबाबका कारण असार २०७२ मा सरकारले २४ वर्ष पुगेका नेपाली महिला वैदेशिक रोजगारीमा जान सक्ने गरी वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका–२०७२ जारी गरेको थियो। सोही वर्ष सरकारले घरेलु रोजगारीमा महिला कामदार पठाउन रोक लगायो ।

साउदीसँग २०६५ मा तत्कालीन श्रममन्त्री लेखराज भट्ट र श्रमराज्यमन्त्री मोहम्मद अफ्ताव आलमले श्रम सम्झौताका लागि पहिलो पटक छलफल गरेका थिए। २०६८ मा नेपाली पक्षको मागबमोजिम साउदी अरेबियाले नेपालमा आफ्नो दूतावास खोले पनि श्रम सम्झौताका लागि वास्ता नगरेको श्रम मन्त्रालयका कर्मचारी बताउँछन् । २०७२ सालपछि भने साउदीले घरेलु रोजगारीमा लगाइएको प्रतिबन्ध खुलाउन सर्त राख्दै आएको छ ।