Close

Recent Posts

क्रिप्टो कारोबारमा निगरानी गदै सरकार, जापान, अष्टेलिया र दक्षिण कोरियाबाट ३ हजारभन्दा बढी नेपालीले क्रिप्टो कारोबार गर्दै

क्रिप्टो कारोबारमा निगरानी गदै सरकार, जापान, अष्टेलिया र दक्षिण कोरियाबाट ३ हजारभन्दा बढी नेपालीले क्रिप्टो कारोबार गर्दै

राप्रपाको प्राइमरी इलेक्सनबका बारेमा महामन्त्रीले नै उठाए प्रश्न

राप्रपाको प्राइमरी इलेक्सनबका बारेमा महामन्त्रीले नै उठाए प्रश्न
  • १८ पुष २०८२, शुक्रबार १५:५७

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले साढे दुई वर्ष अगाडि एउटा अग्रगामी निर्णय लियो– प्रादेशिक र संघीय निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ ५० प्रतिशत उम्मेदवार प्राइमरी इलेक्सनबाट छान्ने । तर, आउँदो फागुन २१ गते हुने संसदीय निर्वाचनका लागि समानुपातिक उम्मेदवार चयन गर्दा राप्रपाले उक्त निर्णय बिर्सिएको छ ।

mulpatra

राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति तथा निर्देशन समितिमा ४ दिनसम्मको छलफलपछि केन्द्रीय कार्यसमितिको २०८० जेठ १ देखि ३ गतेसम्म बसेको बैठकले सो निर्णय लिएको थियो । पार्टीलाई ‘नवीन राप्रपा’ को रूपमा ब्राण्डिङ्ग गर्ने यो एउटा प्रयास थियो जुन अहिले अलपत्र परेको छ । पार्टीका महामन्त्री शरदराज पाठकले सार्वजनिकरुपमा नै यो विषयमा प्रश्न उठाएका छन् ।

आफूले बैठकमा आवाज उठाउँदा पनि सुनुवाइ नभएको उनको गुनासो छ । फेसबुकमा लामो स्टाटस लेख्दै उनले यस्तो गुनासो गरेका हुन् ।

पाठकले भनेका छन्, ‘उक्त निर्णय कार्यान्वयन गरिएको भए, पार्टीमा नयाँ संलग्न भएका वा लामो समय योगदान गरेका नेता कार्यकर्ताले प्रत्यक्ष वा समानुपातिक उम्मेदवारका रूपमा चयन हुन नेतृत्व विशेषलाई वा कमिटी विशेषलाई रिझाउनुपर्ने परम्परादेखि चलिआएको अलोकतान्त्रिक अभ्यासबाट छुटकारा पाउने थिए । आम सदस्यहरूको मूल्याङ्कनका आधारमा उनीहरूको मतबाट आफूलाई अब्बल प्रमाणित गर्दै अगाडी आउन पाउने थिए । पार्टीको जीवनमा लामो वा विशेष योगदान गरेका र एकता÷समायोजनबाट नयाँ आउने महत्वपूर्ण नेतृत्व कोही उम्मेदवार बन्नबाट छुटेको भए बाँकी ५०% बाट आउन सक्ने स्थिति बन्ने थियो ।’

पार्टीको कार्यसम्पादन समितिको बैठकमा प्राइमरी इलेक्सनको विषयमा आवाज उठाउने आफू एक्लो बनेको पाठक बताउँछन् ।

‘दुःखका साथ भन्नुपर्दाः कार्यसम्पादन समितिको बैठकमा ‘हामी प्राइमरीको निर्णयलाई किन लत्याएर अघि बढ्दैछौँ ? यो गलत भइरहेको छ ?’ भनेर प्रश्न उठाउने म एक्लो नेता भएँ । बैठकमा उपस्थित अरू कसैलाई केन्द्रीय समितिको निर्णयलाई ठाडै कुल्चिनु विधि मिच्नु हो, ‘नवीन राप्रपा’ को मर्म मार्नु हो भन्ने नै लागेन वा मनमा लागेर पनि बैठकमा उपस्थित कसैले अभिव्यक्त गर्नुभएन । त्यो उहाँहरूलाई नै थाहा होला ।’ उनले लेखेका छन् ।

आफूलाई यो घटनाले नराम्ररी झस्काएको पाठकले बताएका छन् ।

उनी थप्छन्, ‘पार्टीहरू सार्वजनिक संस्था हुन् । पार्टीहरूमा आम नागरिकको श्रम र पसिनाबाट तिरिएको करको पैसा पनि लागेको हुन्छ । विधिको मार्गमा नहिड्ने पार्टीले एकातिर पर्याप्त जनविश्वास आर्जन गर्न सक्दैनन् भने अर्कोतिर विधिको पूर्ण पालना नगरिएको प्रकृयाबाट कोही क्षमतावान व्यक्ति अगाडी आएछन् भने पनि उनिहरू विवादको घेरामा पर्छन् । अहिले राप्रपामा त्यस्तो देखिएको छ ।’

यस विषयमा हामीले राप्रपाको संस्थापन पक्षीय महामन्त्री राजेन्द्र गुरुङसँग सोध्यौं । उनले प्राइमरी इलेक्सनको निर्णय पार्टीले विगतमा गरेको भए पनि यसपटक समयाभावका कारणले त्यसमा जान नसकिएको बताए ।

उनले भने, ‘बैठकमा यो कुरा उठेको थियो । तर, यसपाली तयारीका लागि पर्याप्त समय नभएकाले त्यसमा जान सकिँदैन भन्ने कुरा भयो । यद्यपि, हामीले सकेसम्म प्रजातान्त्रिक तवरबाटै निर्णय लिएका छौं । विवाद उब्जिएका क्लस्टरहरुमा कार्यसम्पादन समितिको बैठकमै मतदान गराइएको छ ।’