ग्रिनल्याण्ड किन्ने ट्रम्पको अडान, युरोपसँग व्यापार युद्ध छेड्दै ८ राष्ट्रमाथि लगाए ट्यारिफ
काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कअन्तर्गतको स्वायत्त क्षेत्र ग्रिनल्यान्ड किन्ने अनुमति नदिइएसम्म युरोपेली सहयोगी राष्ट्रहरूमाथि क्रमशः कडा भन्सार शुल्क (ट्यारिफ) लगाउने चेतावनी दिएका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै डेनमार्क, नर्वे, स्विडेन, फ्रान्स, जर्मनी, नेदरल्याण्ड्स, फिनल्यान्ड र बेलायतबाट आयात हुने वस्तुमा फेब्रुअरी १ देखि थप १० प्रतिशत आयात कर लागू हुने बताएका छन्।
यी देशहरू यसअघि नै ट्रम्प प्रशासनले लगाएका करको दायरामा परिसकेका छन्। जुन १ देखि उक्त कर बढेर २५ प्रतिशत पुग्नेछ र अमेरिका–ग्रिनल्यान्ड खरिदसम्बन्धी सम्झौता नभएसम्म निरन्तर लागू रहनेछ।
![]() |
![]() |
![]() |
|---|
यससँगै ग्रिनल्यान्डको भविष्यलाई लिएर अमेरिका र युरोपबीचको तनाव थप चर्किएको छ। ट्रम्पले ग्रिनल्यान्ड आफ्नो स्वामित्वमा नआएसम्म कुनै सम्झौता स्वीकार नगर्ने अडान दोहो¥याएका छन्।
डेनमार्क र ग्रिनल्यान्डका नेताहरूले भने ग्रिनल्यान्ड बिक्रीका लागि नभएको र अमेरिकाको हिस्सा बन्न नचाहेको स्पष्ट पार्दै आएका छन्।
सुरक्षा र खनिजका लागि ग्रिनल्यान्ड आवश्यक: ट्रम्प
Image Source: © https://mulpatra.com
ट्रम्पले ग्रिनल्यान्डको भौगोलिक अवस्थिति र विशाल खनिज भण्डारका कारण यो अमेरिकाको सुरक्षाका लागि अत्यन्तै महत्त्वपूर्ण भएको दाबी गर्दै आएका छन्। उनले आवश्यक परे बल प्रयोग गर्ने विकल्पसमेत अस्वीकार नगरेको अभिव्यक्ति दिँदै आएका छन्। यसैबीच डेनमार्कको अनुरोधमा युरोपेली देशहरूले ग्रिनल्यान्डमा सैनिक पठाएका छन्।
“यी देशहरूले अत्यन्तै खतरनाक खेल खेलिरहेका छन्, जसले दीर्घकालीन रूपमा धान्न नसक्ने जोखिम निम्त्याएको छ,” ट्रम्पले लेखेका छन्। साथै उनले डेनमार्क र सम्बन्धित देशहरूसँग वार्ताका लागि अमेरिका खुला रहेको पनि बताएका छन्।
शनिबार डेनमार्क र ग्रिनल्यान्डमा ट्रम्पको मागविरुद्ध प्रदर्शनसमेत भएका छन्। प्रदर्शनकारीहरूले ग्रिनल्यान्डले आफ्नै भविष्य आफैँ तय गर्न पाउनुपर्ने माग गरेका छन्।
ट्रम्पले नाम लिएका युरोपेली देशहरूले डेनमार्कको समर्थन गर्दै नाटो सदस्य राष्ट्रको भूभागमाथि अमेरिकी सैन्य हस्तक्षेप भए सैन्य गठबन्धन नै धरापमा पर्न सक्ने चेतावनी दिएका छन्।
डेनमार्कका विदेशमन्त्री लार्स लोके रासमुसेनले ट्रम्पको घोषणाप्रति आश्चर्य व्यक्त गरेका छन्। युरोपेली संघ र युरोपेली परिषद्ले ट्यारिफको धम्कीबारे संयुक्त प्रतिक्रिया समन्वय गरिरहेको जनाएका छन्।
युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले अन्तर्राष्ट्रिय कानुन र सदस्य राष्ट्रहरूको भू–अखण्डताको रक्षा गर्न युरोपेली संघ दृढ रहने बताएका छन्। स्विडेन, नर्वे, फ्रान्स र जर्मनीका नेताहरूले पनि ग्रिनल्यान्डबारेको छलफलमा ट्यारिफ प्रयोग अस्वीकार्य हुने बताएका छन्।
स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टरसनले सामाजिक सञ्जाल एक्समा लेख्दै, “हामी ब्ल्याकमेल स्वीकार गर्दैनौँ। डेनमार्क र ग्रिनल्यान्डसम्बन्धी विषयमा निर्णय गर्ने अधिकार केवल उनीहरूकै हो,” भनेका छन्।
व्यापार सम्झौतामै खतरा
ट्रम्पको पछिल्लो चेतावनीले युरोपेली संघ र बेलायतसँग अघिल्लो वर्ष भएका प्रारम्भिक व्यापार सम्झौता जोखिममा पर्न सक्ने विश्लेषण गरिएको छ। ती सम्झौताअनुसार युरोपबाट आयात हुने वस्तुमा १५ प्रतिशत र बेलायती सामानमा १० प्रतिशत आधारभूत कर तय गरिएको थियो।
व्यापार विज्ञ विलियम राइन्सका अनुसार केही युरोपेली देशलाई फरक व्यवहार गर्नु नै सबैभन्दा ठूलो खतरा हो, जसले युरोपेली संसदलाई अमेरिका–ईयू व्यापार सम्झौता अनुमोदन गर्नु निरर्थक ठान्न बाध्य पार्न सक्छ।
ग्रिनल्यान्डमा चीन र रुसको बढ्दो प्रभावका कारण सुरक्षा चासो बढेको ट्रम्पको दाबी रहे पनि युरोपेली अधिकारीहरूले ग्रिनल्यान्ड नाटोको सामूहिक सुरक्षा प्रणालीभित्रै रहेको बताउँदै आएका छन्। हाल ग्रिनल्यान्डमा करिब २०० अमेरिकी सैनिकसहितको पिटुफिक अन्तरिक्ष सैन्य आधार सञ्चालनमा छ र सन् १९५१ को सम्झौताअनुसार अमेरिका थप सेना तैनाथ गर्न स्वतन्त्र छ।
यही कारणले धेरै युरोपेली अधिकारीहरूले ट्रम्पको चासो सुरक्षा भन्दा पनि अमेरिकी भूभाग विस्तारतर्फ केन्द्रित रहेको निष्कर्ष निकालेका छन्।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



