सेयर बजार निरन्तर घट्दो
काठमाडौँ । साताको तेस्रो कारोबार दिन पनि सेयर बजार ओरालो यात्रामै देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.२५ अंकले घट्दै २६६२.१४ विन्दुमा सीमित भएको छ । बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्ससमेत ०.२७ प्रतिशतले घटेर ४५४.३९ विन्दुमा झरेको छ । कारोबार रकम पनि घट्दै ८ अर्ब १६ करोड रुपैयाँमा सीमित रहँदा बजारमा दबाब कायमै देखिएको छ ।

बजारबारे जानकार अजय सिंह थापाका अनुसार केही दिनअघि राम्रो भोल्युमसहित बढेको बजारले अघिल्लो च्यानल र ट्रेन्डलाइन ब्रेक गर्न नसक्दा हाल करेक्सन फेजमै रहेको छ । यद्यपि चुनावी माहोललाई आधार मान्दा चुनावसम्म वा नतिजा आउँदासम्म बजार २७ सय माथि टिक्दै ३ हजार विन्दुसम्म पुग्ने सम्भावना भने कायमै रहेको उनको भनाइ छ ।
यस दिन नेप्सेमा सूचीकृत १३ समूहमध्ये म्युचुअल फण्ड र व्यापार समूह बाहेक सबै समूह घटेका छन् । विकास बैंक समूह सर्वाधिक १.१५ प्रतिशतले घट्दा बैंकिङ, फाइनान्स, होटल, हाइड्रो, लगानी, बीमा, उत्पादन तथा लघुवित्त समूह पनि ओरालो लागे । सप्लाईको दबाबका कारण तत्काल ठूलो ग्रोथको सम्भावना कम देखिए पनि सीमित स्टक र केही सेक्टरले बजारलाई सहारा दिन सक्ने अनुमान गरिएको छ ।
![]() |
![]() |
![]() |
|---|
कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहँदै ४५ करोडभन्दा बढीको सेयर कारोबार भएको छ । यस्तै आँखुखोला, रिडी पावर र युनियन हाइड्रोपावरमा पनि उच्च कारोबार देखियो । मूल्य वृद्धितर्फ कालिञ्चोक दर्शनको सेयरमूल्य सबैभन्दा धेरै बढ्दा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक घटेको छ ।



