बंगलादेश झैँ देशमा आगो लगाउनेहरू यहाँ पनि हार्नेछन्: प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा निर्वाचनमा देशमा आगजनी, भ्रष्टाचार, कुशासन र दमन मच्चाउने शक्तिलाई जनताले पराजित गर्ने दाबी गरेका छन्। रुकुम पूर्वको चुनबाङमा शनिबार अपराह्न आयोजित जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले हिंसा र ध्वंसको राजनीति गर्नेहरू अब पराजित हुने र परिवर्तनका पक्षधर शक्तिहरू विजयी हुने बताए।

उनले विगतमा सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतदेखि निजी सम्पत्तिसम्म जलाइएको स्मरण गर्दै अब यस्ता गतिविधि गर्नेहरू जनताको मतबाटै पराजित हुने बताए। “देश जलाउने र अराजकता फैलाउनेहरू हार्नेछन्, गणतन्त्र र परिवर्तन ल्याउनेहरू जित्नेछन्,” उनले भने।
संयोजक प्रचण्डले बंगलादेश मा हालै सम्पन्न निर्वाचनबाट नेपालले पनि पाठ सिक्नुपर्ने बताए। बंगलादेशमा पनि चुनावका बेला आगजनी र हिंसा भएको तर अन्ततः स्थिरता चाहने शक्ति विजयी भएको उल्लेख गर्दै उनले सामाजिक सञ्जालको हल्ला र भीडको राजनीतिलाई जनताले अस्वीकार गरेको उदाहरण प्रस्तुत गरे।
![]() |
![]() |
![]() |
|---|
रोल्पा–रुकुमका जनताले आगजनी, कुशासन र दमन गर्ने प्रवृत्तिलाई राम्ररी चिनेको भन्दै उनले अब यही चेतना देशभर फैलिने विश्वास व्यक्त गरे। साथै, रुकुम पूर्वलाई विकास र समाजवादको नयाँ मोडेलका रूपमा अघि बढाउने प्रतिबद्धता जनाउँदै “भरतपुर मोडेल” जस्तै नयाँ विकासको नमुना निर्माण गरिने बताए।



