झापा ५ का नेकपा उम्मेदवार रञ्जित तामाङद्वारा ‘झापा–५ भिजन–७’ सार्वजनिक
दमक– झापा–५ का नेपाली कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार रञ्जित तामाङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ‘झापा–५ भिजन–७’ सार्वजनिक गरेका छन् ।

दमकमा आइतबार आयोजित कार्यक्रममा भिजन पेपर सार्वजनिक गर्दै तामाङले झापा–५ का लागि ७ वटा प्रमुख भिजनअन्तर्गत ३५ मिसन र २१ लक्ष्य तय गरिएको जानकारी दिए।
राजनीतिक, सांस्कृतिक र आर्थिक दृष्टिले महत्त्वपूर्ण मानिने झापा–५ का लागि शिक्षा, स्वास्थ्य, कृषि, उद्योग तथा व्यवसाय, भौतिक पूर्वाधार, रोजगारी, सुशासन, सामाजिक समावेशीकरण, संस्कृति र वातावरणलाई प्राथमिक भिजनका रूपमा अघि सारिएको छ।
![]() |
![]() |
![]() |
|---|
शिक्षा क्षेत्रमा तामाङले यस क्षेत्रमा रहेका ८७ वटा सामुदायिक विद्यालयलाई विद्यार्थी र अभिभावकको पहिलो रोजाइ बनाउने लक्ष्य लिएका छन् । साथै, दमक बहुमुखी क्याम्पसलाई प्रमुख शैक्षिक केन्द्रका रूपमा विकास गर्दै दीर्घकालीन रूपमा विश्वविद्यालयमा रूपान्तरण गर्ने योजना पनि समेटिएको छ। गौरादह र गौरीगन्ज बहुमुखी क्याम्पस तथा गौरादह कृषि क्याम्पसलाई समयअनुसार परिष्कृत गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरको शैक्षिक हब बनाउने लक्ष्यसमेत भिजनमा उल्लेख गरिएको छ।
स्वास्थ्य क्षेत्रतर्फ सुविधा सम्पन्न अस्पताल निर्माण गरी अत्याधुनिक उपचार प्रविधि भित्र्याउने प्रतिबद्धता जनाइएको छ। कृषि, उद्योग र व्यवसाय क्षेत्रमा युवालाई उद्यमशीलतामा आकर्षित गर्ने, सहकारीलाई प्रोत्साहन गर्ने र औद्योगिकीकरणमार्फत राष्ट्रिय पुँजीको संरक्षण तथा प्रवद्र्धन गर्ने नीति अघि सारिएको छ।
भौतिक पूर्वाधारतर्फ १८ तले बिजनेस कम्प्लेक्स सञ्चालन, विश्वकै अग्लो बुद्ध मूर्ति निर्माणका लागि अध्ययन, औद्योगिक ग्राम स्थापना लगायतका महत्त्वाकाङ्क्षी मिसन समेटिएका छन्।
Image Source: © https://mulpatra.com
भिजन पेपरअनुसार आगामी पाँच वर्षभित्र १७० वटा गौरव आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसका लागि निर्वाचन क्षेत्रका २९ वडामा हरेक वर्ष २९ आयोजना सञ्चालन गरिने, चारवटा स्थानीय तहमा हरेक वर्ष चार–चार आयोजना र क्षेत्रीय स्तरमा प्रत्येक वर्ष एउटा आयोजना कार्यान्वयन गर्ने योजना सार्वजनिक गरिएको छ।
तामाङले झापा–५ लाई योजनाबद्ध विकास, रोजगारी र सुशासनको नमुना क्षेत्र बनाउने उद्देश्यसहित ‘भिजन–७’ सार्वजनिक गरिएको स्पष्ट पारे।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



