पाँच वर्षमा गर्ने काम समेटेर रास्वपाले सार्वजनिक गर्यो नागरिक करार (करारपत्र सहित)
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी पाँच वर्षका लागि स्पष्ट मार्गचित्रसहितको ‘नागरिक करार’ सार्वजनिक गरेको छ। नागरिकको मतलाई राजनीतिक लगानीका रूपमा व्याख्या गर्दै पार्टीले पाँच वर्षभित्र ठोस प्रतिफल दिन नसके आगामी निर्वाचनमा नागरिकले आफूहरूलाई सजाय दिन सक्ने स्पष्ट प्रतिबद्धता समेत जनाएको छ।

नागरिक करारमा रास्वपाले सदाचार, आर्थिक समृद्धि, रोजगारी, पूर्वाधार र प्रवास गरी पाँच मुख्य क्षेत्रलाई प्राथमिकतामा राखेको छ। सदाचार र असल शासनलाई पहिलो प्राथमिकता दिँदै भ्रष्टाचार विरोधी महाअभियान सञ्चालन गर्ने, सरकारी सेवाहरू पूर्ण रूपमा डिजिटल बनाउने र वि।सं। २०४६ यताकै उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्ने योजना अघि सारिएको छ।
आर्थिक समृद्धितर्फ मध्यम वर्ग विस्तारलाई जोड दिँदै प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलरभन्दा माथि पुर्याउने र कुल गार्हस्थ उत्पादन (जीडीपी) को आकार १०० अर्ब डलर नाघ्ने लक्ष्य लिइएको छ। सार्वजनिक शिक्षामा सुधार, एकीकृत सामाजिक सुरक्षा प्रणाली र शतप्रतिशत बिमासहितको गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता पनि करारमा समेटिएको छ।
![]() |
![]() |
![]() |
|---|
त्यस्तै सूचना प्रविधि, निर्माण, पर्यटन, कृषि, उद्योग र सेवा क्षेत्रमा पाँच वर्षभित्र १२ लाख नयाँ मर्यादित रोजगारी सिर्जना गर्ने, पूर्वाधार विकासअन्तर्गत पाँच वर्षमा १५ हजार मेगावाट विद्युत् जडान क्षमता विस्तार, ३० हजार किलोमिटर सडक सञ्जाल विकास गर्ने कुरा समेत समेटिएको छ ।




