कृषि र घरेलु रोजगारीमा कामदार लिन नेपालले गरेको प्रस्ताव इजरायलद्धारा स्वीकार
काठमाडौं– इजरायलले कृषि तथा घरायसी कामदार लिन सम्बन्धमा नेपालले पठाएको सम्झौता प्रस्तावलाई स्वीकार गर्दै थप छलफल गर्न नेपाललाई पत्राचार गरेकोे छ ।

नेपाल सरकारले कृषि क्षेत्र र घरेलु कामका लागि कामदार पठाउन इजरायललाई एक महिनाअघि सम्झौताको मस्यौदा पठाएपछि इजरायलले प्रस्तावलाई सकारात्मक रुपमा लिई छलफलका लागि पत्राचार गरेको हो ।
हाल इजरायलमा संस्थागत केयर सेन्टरमा बालबालिका तथा बृद्ध–बृद्धाको स्यारका लागि जीटुजीमार्फत नेपाली कामदार गइरहेकोमा अब भने घरेलु केयरगिभर समेत पठाउन २ देशबीचको छलफल अन्तिम चरणमा पुगेको छ ।
![]() |
![]() |
![]() |
|---|
कति संख्यामा यस्ता कामदार लैजाने भन्ने कुरा सम्झौतापछि आउने मागमा तय हुने जनाइएको छ । २०६७ सालदेखि इजरायलमा संस्थागत रुपमा नेपाली कामदार कृषि तथा केयरगिभरमा जान थालेका हुन् ।
‘लर्न एण्ड अर्न’ अन्र्तगत कृषि क्षेत्रका कामदार र वृद्धवृद्धा तथा अशक्तको स्याहार गर्न घरायसी केयरगिभरका लागि ५ वर्षसम्म दीर्घकालीन रोजगारी दिने निर्णय गरेपछि इजरायलले सम्झौता प्रस्ताव पठाइएको थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले इजरायलसँग थप कामदार पठाउने विषयमा सम्झौता गर्न पत्रचार गरेपछि केही विषयमा छलफल गर्नुपर्ने जनाउँदै इजरायलले पत्र पठाएको बताए ।
Image Source: © https://mulpatra.com
इजरायलले पत्राचार गरेसँगै मन्त्रालयले यस सम्बन्धमा इजरायल सरकारसँग छलफल अघि बढाउने उनले बताए । सम्झौताअघि सामान्यता २ पक्षले आफ्नो पक्षका विषयबारे छलफल गरी सम्झौताको टुंगो लगाउने गर्दछन । यसका लागि २ पक्षको प्रविधिक समिति बनाएर छलफल गर्ने प्रचलन रहेको छ । सरकारले यसअघि लर्न एण्ड अर्न कार्यक्रम खारेज गरेको भए पनि पुनः कृषि क्षेत्रमा नेपाली लैजाने योजनासहित इजरायली पक्षसँग सम्झौता गर्ने तयारी गरेको हो ।
हाल इजरायलमा नेपाली श्रमिकहरू व्यक्तिगत तथा संस्थागत रुपमा जीटीजुुमार्फत जाने गरेका छन् । हाल ५ हजारको हाराहारीमा नेपाली श्रमिक कार्यरत छन् । पछिल्लो समय करिब २ हजार ५ सयभन्दा बढी नेपाली केयरगिभरको रूपमा इजरायल पुगिसकेका छन ।
पछिल्लो समय इजरायलमा रोजगारीका लागि जाने नेपालीको संख्या बढ्दै गएका कारण त्यहाँ कार्यरत नेपाली कामदारको सुरक्षा चासो बढेको छ ।
हाल इजरायलका विभिन्न केयरगिभर (वेताबोद) मा विदेशी श्रमिक अभाव हुन थालेपछि सो क्षेत्रमा नेपाली केयर गिभर लैजाने तयारीसहित करार सम्झौता भइरहेका बेला घरेलु केयरगिभर र कृषि कामदार पठाउने सरकारको तयारी रहेको छ ।
गत आर्थिक वर्षमा मात्र नेपालबाट रोजगारीका लागि इजरायल जाने श्रमिकको संख्या उल्लेख्य वृद्धि भएसँगै रेमिटेन्समा थप वृद्धि भएको थियो । यसैगरी केही समयपछि इजरायलले थप नेपालीलाई रोजगारीको अवसर दिने प्रतिबद्धता जनाएसँगै नेपाल सरकारले अन्य क्षेत्रमा थप नेपाली पठाउने गृहकार्य समेत गरिरहेको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



