देउवाको गृहजिल्लाका बासिन्दाले गरे चुनाव बहिष्कार गर्ने घोषणा
काठमाडौं– डडेल्धुराको अमरगढी नगरपालिका– ६ का वडाबासीले चुनाव बहिष्कार गर्ने घोषणा गरेका छन् । डडेल्धुरा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो ।

उनी डडेल्धुराबाट सातपटक चुनाव जितेर पाँचपटक प्रधानमन्त्री भइसकेका छन् । यसपटक भने उनी चुनावी मैदानमा छैनन् । उनीहरूले चुनाव बहिष्कार घोषणासभाको आयोजना गर्दै आसन्न प्रतिनिधिसभा निर्वाचनमा सहभागी नहुने बताएका हुन् ।
अमरगढी नगरपालिकाले फोहोरमैला व्यवस्थापनको नाममा आफूहरूलाई झुक्याएको भन्दै उनीहरूले चुनाव बहिष्कार गर्ने घोषणा गरेका हुन् । फोहोरविरुद्ध संघर्ष समितिका अनुसार नगरपालिकाले सुरुमा अमरगढी– ५ भजनपुरनजिक गुनेगाड क्षेत्रमा कागती खेती गर्ने योजना रहेको भन्दै स्थानीयवासीलाई जानकारी गराएको थियो । तर, अहिले आएर सोही क्षेत्रलाई फोहोर फाल्न थालिएको संघर्ष समितिका अध्यक्ष गंगा ताम्राकारले जानकारी दिए ।
![]() |
![]() |
![]() |
|---|
भजनपुर नजिकै रहेको गुनेगाड क्षेत्र बस्ती नजिकै रहेको तथा त्यहाँ खानेपानीका मुहान, सिँचाइको स्रोत र विद्यालय जाने बाटो रहेका कारण फोहोर व्यवस्थापन केन्द्रका लागि उपयुक्त नभएको स्थानीयको भनाइ छ । स्थानीयले फोहोर व्यवस्थापनका लागि वैकल्पिक र उपयुक्त स्थान छनोट गर्न माग गरेका छन् । उनीहरूले आफ्नो माग सम्बोधन नभए आन्दोलन चर्काउने बताएका छन् ।



