सरकारद्धारा ट्राभल्स एडभाइजरी जारी गर्दै इरान इजरायल भ्रमण नगर्न आग्रह
काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै नेपाल सरकारले इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले परिस्थितिको सूक्ष्म निगरानी भइरहेको जनाउँदै तत्कालका लागि यी दुई देशको यात्रा नगर्न एडभाइजरी जारी गरेको छ।

मन्त्रालयले त्यहाँ रहेका नेपालीहरूलाई सम्बन्धित सरकारी तथा सुरक्षा निकायका निर्देशन पूर्ण पालना गर्न, सकेसम्म घरभित्रै बस्न, अनावश्यक यात्रा नगर्न र नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन सुझाएको छ। साथै, रोजगारी वा अन्य प्रयोजनका लागि इजरायल वा इरान जाने तयारीमा रहेका नागरिकलाई अवस्था सामान्य नभएसम्म यात्रा स्थगित गर्न कडा सल्लाह दिइएको छ।
आपत्कालीन अवस्था वा आवश्यक समन्वयका लागि नागरिकहरूलाई काठमाडौँस्थित परराष्ट्र मन्त्रालय, इजरायलको तेल अविवस्थित नेपाली दूतावास तथा कतारको दोहास्थित नेपाली दूतावाससँग सम्पर्कमा रहन अनुरोध गरिएको छ।
![]() |
![]() |
![]() |
|---|



